आज नेपालले आयोजक पाकिस्तानसँग खेल्ने, साफ महिला फुट्वलमा बङ्गलादेशले अफ्गानिस्तानलाई हरायो


footballसाफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे आयोजक पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ । यसैबीच, पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिन्ना रङ्शालामा भएको सो प्रतियोगितामा बङ्गलादेशले अफ्गानिस्तानलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने अफ्गानिस्तानले लियो । अफ्गानिस्तानकी फरवार्ड मरजनले खेलको २३औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएता पनि त्यो लामो समयसम्म भने टिक्न सकेन । बङ्गलादेशकी मायनु मरामाले खेलको पूर्वार्धको ३४औँ मिनेटमा एक गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीको स्थितिमा पुग्यो । उनले गोल गरेको करिब दुई मिनेट पनि वित्न नपाउँदै बङ्गलादेशकी अर्की खेलाडी सरिमती किरासना रानी सारकरले एक गोल फर्काएपछि बंगलादेश २–१ गोलअन्तरले अगाडि रहयो । खेलको पहिलो हाफसम्म १–२ अन्तरले अगाडि रहेको बङ्गलादेशले दोस्रो हाफमा चार गोल बर्षायो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै बङ्गलादेशकी सरिमती किरासनाले पुनः एक गोल गरिन् । त्यस्तै, बङ्गलादेशकी उपकप्तान सविना खातुनले खेलको ६२औँ मिनेटमा डिबक्स नजिकबाट गोल गरिन् । फरवार्ड सरिमतीले खेलको ६९औँ मिनेटमा एक गोल थपेपछि प्रतियोगितामा ह्याट्रिक पुरा गरिन् । उनी प्रतियोगितामा ह्याट्र्कि पुरा गर्ने दोस्रो खेलाडीसमेत बनिन् । यसअघि आजै भएको पहिलो खेलमा भारतकी नागान गोमबाला देवीले चार गोल गरेकी थिइन् । बङ्गलादेशकी फरवार्ड मोस्सामत मुनमुन अटेरले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल थपेपछि बङ्गलादेश ६–१ ले विजयी भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]