बहुसांस्कृतिक मेलबर्नमा दोश्रो न्यू ईमर्जिङ कम्युनिटीज फेष्टिभल हुँदै, शनिबार ग्लेनरोयमा कार्यक्रम

हेल्प हिमालय युथ फाउन्डेशन र अष्ट्रेलियामा रहेका भुटानी समूदायको आयोजनामा दोश्रो पटक न्यू एण्ड ईमर्जिङ कम्युनिटी फेष्टिभल आयोजना हुने भएको छ । यो शनिबार २१ अप्रिलका दिन अघिल्लो वर्षजस्तै विविध कार्यक्रमको आयोजना गरी फेष्टिभल गर्न लागिएको हो । ग्लेनरोयको एडभार्ड स्ट्रिीटमा रहेको बेल्ले भू पार्क प्राईमरी स्कूलको प्राङ्गणमा कार्यक्रम हुनेछ । भिक्टोरियाको बहुसांस्कृतिक आयोगको सहयोगमा कार्यक्रम हुन लागेको हो । महोत्सवमा नेपाली, भुटानी, बर्मिज, भारतीय, अप्रिकी, ईराकी, भियतनामी, माउरी, ईन्डोनेसियन, श्रीलंकन, टर्कीस, कुर्दिश लगायतका समूदायले आफ्ना गीत, संगीत, भेषभूषको प्रदर्शन गर्नेछन् । अष्ट्रेलियाको मूल राजनीतिका उच्चपदस्थ अधिकारी समेत मेलामा सहभागी हुन लाग्नुभएको आयोजकमध्येका एक परशुराम लुईटेलले जानकारी दिनुभयो । लुईटेलका अनुसार बालबालिकाहरुको लागि विशेष आकर्षण राखिएको छ । फेस पेन्टिङदेखि लिएर, डान्सका प्रस्तुतिसम्म त्यहाँ रहनेछन् । खानाका स्टलहरु पनि फेष्टिभल आयोजनास्थलमा रहनेछन् ।