‘नेपालको शान्ति प्रक्रियाको उपलब्धिबाट सार्क क्षेत्रले नै लाभ लिन सक्छ’ सञ्चारमन्त्री रिजाल


Rijalसूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धिलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुकका नेताहरूका बीचमा अनुभव आदानप्रदान गरी यसलाई क्षेत्रीय शान्तिमा पनि उपयोगीसिद्ध हुने गरी छलफलमा ल्याइने बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा रिजालले सार्कका सदस्य मुलुकमा विगतमा  विभिन्न प्रकारका द्वन्द्व र हिंसा कायम रहेको तथा भोग्नुपरेको बताउँदै नेपालले शान्ति प्रक्रियामा गरेको महत्वपूर्ण उपलब्धिलाई सार्कका सदस्य मुलुकले पनि चासोका साथ हेरिरहेको बताउनुभएको हो । आगामी मङ्सिर १० र ११ गते काठमाडौँमा सार्क शिखर सम्मेलन हुँदैछ । मन्त्री डा रिजालले भन्नुभयो, “सार्कका हामी सदस्य मुलुकले शान्ति निर्माणका सन्दर्भमा साझा चुनौतीको सामना गरिरहेको सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको प्रगतिबाट अन्य मुलुकलाई पनि सकारात्मक प्रभाव पर्ने भएकाले शान्ति स्थापनाका हाम्रा अनुभवबाट यस क्षेत्र पनि लाभान्वित हुन सक्छ ।” उहाँले नेपालमा नयाँ संविधान बन्ने रहेको र संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेपछि नेपालको शान्ति प्रक्रिया पूर्णत्वमा (फाइनल स्टेज) मा पुग्ने बताउँदै उहाँले संविधान निर्माण र शान्तिको पूर्णत्वसँगै नेपालमा जलविद्युत््, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा लगानी ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिँदै नेपाल अब समृद्धिको बाटोमा लम्केको बताउनुभयो ।

साझा पहिचान र चुनौती

सञ्चार मन्त्री डा रिजालले सार्क क्षेत्रका साझा पहिचान, संस्कृति र सम्भावना तथा चुनौतीका विषयमा शिखर सम्मेलनमा अनुभव आदानप्रदान हुने जनाउँदै यहाँभित्र व्यापार लगानीका माध्यमबाट बृहत् सहभागिता गराई पूर्वाधार विकास र सञ्चार सञ्जालमा जोड दिने बताउनुभयो ।

सन् २०१५ सम्ममा सहस्राब्दी विकासका लक्ष्यलाई पूरा गराउने दायित्वमा पनि सार्क मुलुकका सदस्यहरू गम्भीर हुँदै आएको र यसमा हालसम्मको प्रगतिको समीक्षा गरी आगामी कार्यसूची तय गर्न शिखर सम्मेलनमा छलफल हुने मन्त्री डा रिजालले जानकारी दिनुभयो । उहाँले कतिपय विकासित मुलुकका जलवायु उत्सर्जनको प्रभाव नेपालजस्तो मुलुकले भोग्नु परेको र हिमालय हिन्दूकुश क्षेत्रका मुलुकले भोगिरहेका जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरणका लागि विश्व समुदायकै ध्यानाकर्षण गराउने काम शिखर सम्मेलनले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सार्कमा भारतको महत्व

उहाँले छिमेकी भारतको तीव्र आर्थिक विकास र नयाँ राजनीतिक नेतृत्वलाई सार्कमै चासो र महत्वका साथ हेरिएको र शिखर सम्मेलनमा पनि त्यसको प्रभाव पर्ने जनाउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले यसअघि नेपाल आउँदा पनि सार्क क्षेत्रमा आपसी सञ्चार बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको सन्दर्भलाई नेपालले विशेष ध्यान दिएको जनाउनुभयो । “त्यसकारण हामीले सार्क मुलुकबीच उन्नतरूपमा सूचना र सञ्चार कायम गराउने तयारी गरिरहेका छौँ ।” मन्त्री डा रिजालले भन्नुभयो, “यस क्षेत्रमा सञ्चार र पूर्वाधारका लागि बृहत् सहकार्यको हामीले अपेक्षा गरेका छौँ ।” मन्त्री डा रिजालले भन्नुभयो, “सार्कमा भारत एक प्रकारको नेता हो । विश्व रङ्गमञ्चमै उसको महत्व छ । त्यसकारण भारतको समृद्धिबाट लाभ लिन हामीले सक्नुपर्छ ।” उहाँले भारतको आर्थिक विकाससँगै छिमेकी मुलुकको पनि सँगै आर्थिक विकास भएमा भारतको पनि हित हुने विचार व्यक्त गर्नुभयो । सार्कभित्र विद्यमान व्यापार घाटा बढाउने विषयमा पनि साझा सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँको भनाइ छ, “दक्षिण एसियाका नेता व्यापार र लगानीसँग सम्बन्धित गतिविधिमा केन्द्रित हुनुपर्छ । शिखर सम्मेलनले यस सम्बन्धमा पनि मार्गप्रशस्त गर्नेछ ।”

आपसी सञ्चारलाई बढावा

मन्त्री डा रिजालका अनुसार दक्षिण एसियाली क्षेत्रमा जनतादेखि जनतासँगको सम्बन्ध सुदृढ पार्न सूचना र सञ्चारका क्षेत्रलाई थप विकसित गर्ने प्रस्ताव नेपालले सम्मेलनमा राख्नेछ । यस क्षेत्रका सूचना तथा सञ्चार मन्त्रालय, दूरसञ्चार निकाय र सञ्चालक मिलेर आपसी सञ्जालका लागि यी मुलुकले कार्य गरिरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा नेपाल टेलिभिजन र भारतीय प्रसारण संस्था दूरदर्शनबीच सम्झौता भइसकेको स्मरण गराउँदै उहाँले सूचना, सञ्चार तथा सार्क मुलुकका समाचार समितिबीचमा पनि सहकार्य बढाउने प्रयास थालिएको जनाउनुभयो ।

सम्मेलनकोे प्रचारप्रसार

सार्क शिखर सम्मेलनको अन्य तयारीसँगै सरकारबाट प्रचार प्रसारका क्षेत्रमा पनि उत्तिकै गतिका साथ काम भइरहेको छ । यसका लागि लाजिम्पाटस्थित होटल ¥याडिसनमा मिडिया सेन्टर (सञ्चार केन्द्र) स्थापना हुनेछ । सो केन्द्रबाटै प्रधानमन्त्री सुशील कोइरालाबाट सम्मेलनसम्बन्धी जानकारी (ब्रिफिङ) का कार्यक्रम पनि हुनेछ । शिखर सम्मेलनका लागि मूल समितिअन्तर्गको प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका मन्त्री डा रिजालका अनुसार सञ्चार मन्त्रालयबाट समन्वयको काम भइरहेको छ । यस्तै परराष्ट्र मन्त्रालयका प्रवक्ताको संयोजकत्वमा अलग्गै समन्वय समिति पनि गठन गरिएको छ । सम्मेलनका लागि समाचार सङ्कलन गर्ने स्वदेशी र विदेशी पत्रकारका लागि अनिवार्य प्रवेशपत्र लिनुपर्ने र त्यसका लागि यही नोभेम्बर २० सम्म अनलाइनमार्फत सूचना विभागमा आवेदन दिनुपर्नेछ । सम्मेलनको उद्घाटन सत्रका लागि भने राष्ट्रियसभा गृहमा सीमित स्थान हुने भएका कारण सबै पत्रकारलाई प्रवेश नदिइने भएको छ । सम्मेलन उद्घाटनको प्रत्यक्ष प्रसार मिडिया सेन्टरमा हुनेछ । नेपाल टेलिभिजन र सूचना विभागको वेभसाइटबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै राष्ट्रिय समाचार समिति (रासस) ले सम्मेलनका समाचार ग्राहक नरहेका सञ्चार माध्यमलाई निःशुल्क उपलब्ध गराउनेछ भने सार्कसम्बन्धी विशेष प्रकाशन पनि गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]