संविधान जारी नहुन्जेल यही सरकार कायमै रहने उपप्रधानमन्त्री बामदेव गौतमको भनाई, पत्रकारको सुरक्षाको माग गर्दै पत्रकारबाट गौतमलाई ज्ञापनपत्र


???????????????????????????????नेपाल पत्रकार महासङ्घ झापाले पत्रकारको सुरक्षाको माग गर्दै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएको छ । झापाको चन्द्रगढी विमानस्थलमा पुगेको पत्रकार महासङ्घको टोलीले गृहमन्त्री गौतमलाई ज्ञापनपत्र बुझाएको हो । महासङ्घ झापाका अध्यक्ष भीम नेम्बाङको नेतृत्वमा पुगेको टोलीले गृहमन्त्री गौतमलाई सूचनाको हकको सुनिश्चित गर्न अहोरात्र खटिने सञ्चारकर्मी विभिन्न क्षेत्रबाट आक्रमणको निसाना बनेको र उनीहरूको सुरक्षाको भरपर्दो सुनिश्चित गरिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो । गत कात्तिक २ गते राति विर्तामोडस्थित शनिश्चरे रोडमा कार्यालयको काम सकी निवासतर्फ जाँदै गर्दा नेपाल पत्रकार महासङ्घ झापाकी सदस्य तथा अर्जुनधारा दैनिककी सम्वाददाता रेजिना रोदन गौतम र नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि हतियारधारी समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको स्मरण गराउँदै महासङ्घ झापाका अध्यक्ष भीम नेम्बाङले गृहमन्त्री गौतमलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । पत्रकार आक्रमणमा संलग्न हतियारधारी समूहमध्येका तीनजनालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाए पनि प्रहरीले उनीहरूलाई कुनै कारबाही नगरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । महासङ्घ झापाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–पीडित पत्रकारले न्याय नपाइरहेको अवस्थामा तत्काल दोषीलाई कारबाही गरिनुपर्ने र घटनामा संलग्न अन्य आक्रमणकारीलाई समेत पक्राउ गरी कडाभन्दा कडा कारबाही गरियोस् । गृहमन्त्री गौतमले ज्ञापनपत्र बुझ्दै पत्रकार आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले नेपाल प्रहरी अनुसन्धानका क्रममा संसारकै सक्षम प्रहरी रहेको र पत्रकार आक्रमणमा संलग्नलाई आवश्यक अनुसन्धान गरी जनतासामु सार्वजनिक गर्दै कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो ।

सरकार परिवर्तन हुँदैन – गृहमन्त्री गौतम

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आगामी माघ ८ गते जसरी पनि संविधान जारी हुने बताउनुभएको छ । झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले उक्त कुरा बताउनुभएको हो । उहाँले सहमति हुनसक्ने विषयमा समहति गरेर र सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुङ्ग्याएर संविधान जारी गरिनेछ भन्नुभयो । संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने र प्रक्रिया नमान्नेहरू निरङ्कुशतावादी हुने पनि उहाँले बताउनुभयो । सरकार अहिले लोकतान्त्रिक पद्धतिबाट मुलुकमा व्याप्त सङ्क्रमणकाल व्यवस्थित गर्न प्रयत्नशील रहेको समेत उहाँले बताउनुभयो । अर्काे एक प्रशङ्गमा उपप्रधान तथा गृहमन्त्री गौतमले संविधान जारी नगरी सरकार परिवर्तन नहुने प्रष्ट पार्नुभयो । संविधान जारी नहुन्जेल वर्तमान सरकार नै निरन्तर रहने र त्यसपछि भने सरकार परिवर्तन हुने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]