बहुमतको अहंकार नगरौं, सहमति र सहकार्यबाट नै संविधान जारी गर्ने बाटोमा काँग्रेस एमाले लाग्नुपर्ने


prachanda1एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले) ले बहुमतको आधारमा संविधान जारी गर्छु भनेर सोच्नु नहुने बताउनुभएको छ । संयुक्त विद्यार्थी सङ्गठनले ‘समयमै संविधान जारी गर्न दबाब दिने अभियान’अन्तर्गत लाजिम्पाटस्थित दाहाल निवासमा पुगी बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले माघ ८ आउन अझै तीन महिना बाँकी भएकाले सहमति र सहकार्यबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष दाहालले भन्नुभयो, “बहुमतका आधारमा संविधान जारी गर्ने भए मैले पनि अघिल्लो संविधानसभाबाट त्यसै गर्थें तर त्यस्तो गर्नु राम्रो होइन ।” उहाँले संविधान जारी गर्नु भनेको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापनको पनि टुङ्गो लगाउनु भएकाले यसलाई सबै दलको सहमतिमा निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष किशोरविक्रम मल्ल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा सभासद् रञ्जित कर्ण र अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष रमेश मल्लले संविधानसँग जनताको भविष्य जोडिएकाले निर्धारित मितिमै संविधान जारी गर्नुपर्ने माग गर्नुभयो । सो अभियानले सभामुख सुवास नेम्वाङ, नेकपा (एमाले) र नेपाली काँग्रेसलाई यसअघि नै तोकिएको मितिमै संविधान जारी गर्न दबाबस्वरुप ज्ञापनपत्र बुझाइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]