घर पालुवाजनावरको लागि फाईभ स्टार होटल, कुकुरले एक रात बिताएकै २ सय ७१ डलर


dogघरपालुवा जनावरका लागि वातानुकुलित विलासी कोठा, खनिज जलयुक्त स्नान (स्पा) तथा रुचिकर खाना उपलब्ध गराउने एक विलासी होटेल मङ्गलबार सिङ्गापुरमा खुला भएको छ । यसले यस धनी नगरमा घरपालुवा जनावरका लागि उपलब्ध सेवाको स्तर अझै बढाउने अपेक्षा गरिएको छ । चार सय एक बर्ग मिटरयुक्त क्षेत्रफलको वाजिङटन होटेल बेलायती उपनिवेशकालमा कूटनीतिज्ञका लागि तयार गरिएको भवनमा खोलिएको छ । यहाँ तीन कुकुरका लागि प्रति रात २७१ अमेरिकी डलर पर्ने ‘‘रोयस सुट’’ को व्यवस्था गरिएको छ । यस्ता कोठामा महङ्गा बत्ती, टेलिभिजन र कृत्रिम छालाको ओछ्यानको व्यवस्था गरिएको छ । वास्तवमा यो होटेल विशेष गरी कुकरका लागि तयार गरिए पनि यहाँ बिरालोका लागि पनि व्यवस्था गर्न सकिन्छ । यस होटेलका संस्थापक स्टेल टेलरले एक विज्ञप्ति प्रकाशन गरी मानवले आफ्नो जीवनमा सबैभन्दा राम्रा कुरा पाउन चाहने हो भने उसका सबैभन्दा भक्त मित्रलाई पनि यस्तै कुरा पाउने हक हुने उल्लेख गर्नुभएको छ । उहाँले जनावरलाई मनपराउने व्यक्ति भएकाले आफ्ना जनावरलाई उनीहरूले घरमा बसेजस्तै सजिलो अनुभव गर्ने स्थान हुनुपर्ने आफूहरूले ठानेको उल्लेख गर्नुभएको छ । यस होटेलमा यी घरपालुवा जनावरले आराम मात्र पाउने भन्ने छैन । यहाँ उनीहरूले हड्डीको आकारमा बनेको पौडी पोखरीमा शारीरिक अभ्यास गर्नसक्छन् । यहाँ उनीहरूका लागि कृत्रिम बगैँचा छ र घरभित्र दौडनका लागि ट्रेडमिल पनि छ । यी जनावरका मालिकले उनीहरूका लागि खनिजस्नान (स्पा), केश शृङ्गार, मसाज, अनुहार लेपन, फिँज स्नान, भुवा सुकाउने तथा वास्नादार तेल मसाज जस्ता सेवा उपलब्ध गराउन सक्छन् । यस होटेलले यी जनाबरलाई घरदेखि होटेलसम्म र होटेलदेखि घरसम्म ल्याउन पु¥याउन लिमोजिनको पनि व्यवस्था गरेको छ । सिङ्गापुरको जनसङ्ख्या ५५ लाख रहेको छ र उनीहरू अग्ला भवनमा बसोबास गर्छन् । यहाँ घरपालुवा जनावरका लागि २५० पसल छन् र यी पसल प्रायः ठूला बजार क्षेत्रमा रहेका छन् । एक व्यापारीले यस्ता जनावर तथा उनीहरूका मालिकका लागि साताको अन्त्यमा समुद्रमा घुम्न पानीजहाज सेवा समेत उपलब्ध गराएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]