न्यूजिल्याण्ड नेपाल समाजको आयोजनामा वार्षिक खेलकुद कार्यक्रम २६ अगष्टबाट

न्यूजिल्याण्डमा आगामी २६ अगष्टबाट वार्षिक खेलकुद कार्यक्रम हुने भएको छ । हरेक वर्ष न्यूजिल्याण्ड नेपाल समाजको आयोजनामा हुने यस कार्यक्रम अन्तर्गत यस वर्ष टेबल टेनिस, फुटसल, चेस, व्याडमिन्टन, क्यारेमबोर्ड लगायतका खेलकुदका गतिविधि हुनेछन् । समाजको तर्फबाट हालै एक विज्ञप्ति प्रकाशित गर्दै खेलको तालिका सार्वजनिक गरिएको छ । जस अनुसार २६ अगष्टबाट टेबल टेनिसका प्रतियोगिताअन्तर्गत खेलहरु हुनेछन् । यस्तै २ सेप्टेम्बरमा फुटसलका खेलहरु हुने र ३ सेप्टेम्बरमा चेसका खेलाडीहरु भिड्ने तयारी छ । यसैगरी व्याडमिन्टनको सिंगलतर्फको स्पर्धा ९ सेप्टेम्बरमा हुनेछ भने डबल्स र मिक्स डबल्स तथा लेडिज सिंगलका प्रतिस्पर्धा १६ सेप्टेम्बरमा हुनेछ । यसपछि १७ सेप्टेम्बरमा क्यारेमबोर्डका विभिन्न स्पर्धा हुनेछन् । समाजले प्रतियोगितामा सहभागी हुन कुनै शुल्क तिर्न नपर्ने जनाउँदै प्रतियोगिता विशुद्ध नेपाली नेपालीबीचको भाईचारा अभिबृद्धिको निम्ति आयोजना गरिएको जानकारी दिएको छ । संस्थाले यसअघि आगामी १९ अगष्टका दिन माउन्ट रोसकिल मेमोरियल हलमा तीज विशेष कार्यक्रम पनि आयोजना गर्नेछ । यसैगरी आगामी सेप्टेम्बर २३ तारिखका दिन नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा दशैं २०१७ आयोजना गर्ने भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित दशैंको स्वागतका लागि कार्यक्रम आयोजना गरिएको न्यूजिल्याण्ड नेपाल समाजले जनाएको छ ।