मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सुरु भएको कार्तिक नाच सकिँदै, सबैभन्दा लामो नाट्य महोत्सवमा पुगे हजारौं दर्शक


kartikमल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रत्येक वर्ष कात्तिक महिनामा सञ्चालन हुँदै आएको र नेपालको इतिहासमा सबैभन्दा लामो नाट््य महोत्सवको रुपमा रहेको प्रसिद्ध कात्तिक नाच यस वर्ष आगामी बिहीबार सकिने भएको छ । यही कात्तिक ९ गतेबाट सुरु भएको सो नाच बिहीबार वस्त्रहरण लीला नाच देखाएर यस वर्षका लागि सो नाच सकिने बताइएको छ । विसं १६९७ देखि राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषीको सल्लाहअनुसार देश र जनताको कल्याणका लागि कात्तिक महिना पारेर कात्तिक महिनाभरि यस नाचलाई देखाउन सुरु गरेका हुन् । सुरुका समयमा कात्तिक महिना पूरै यस नाचलाई देखाउने प्रचलन रहेको थियो । त्यसपछि कहिले सात दिन, कहिले आठ दिन त कहिले १५ दिन यस नाचलाई देखाउँदै आइएको थियो । विभिन्न कारणले गर्दा विसं २००८ देखि २०३७ सम्म कात्तिक महिनाभरि यस नाचलाई दुई दिनमात्र सञ्चान गरिएको बताइएको छ । यसरी लामो समयसम्म निश्चित समयमा देखाउने भनेर नभनी संस्कृतिको जगेर्ना गर्ने हिसाबले मात्र यो नाच सञ्चालन भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँका अनुसार यस नाचलाई नियमितरुपमा सञ्चालन गर्न र हरेक वर्ष महत्वपूर्ण सबै नाच देखाउने उद्देश्यले विसं २०३८ मा कात्तिक नाच प्रबन्ध समितिको गठन भएपछिका दिनदेखि भने हरेक वर्ष आठ दिन यस नाचलाई देखाउन थालिएको हो ।  गत वर्ष कात्तिक नाचलाई १० दिन देखाइएको थियो । यस वर्षबाट भने यस नाचलाई १२ दिन देखाउन सुरु गरिएको छ । बाह्र दिनसम्म देखाइने हरेक नाचको आआफ्नै महत्व भए पनि सबैभन्दा महत्वको नाचको रुपमा नृसिंह अवतार र बराह अवतार हीरण्याक्ष नाचलाई लिने गरिएको छ । यो नाच सञ्चालनका लागि कलाकार वाद्यवादक तथा कामदारसहित कम्तीमा ७० जनाको आवश्यकता पर्दछ । नाचमा सहभागी कलाकारले नाच्दा लगाउने कपडाको व्यवस्था आफैँले गर्नुपर्ने भएकाले आवश्यक कलाकार भेटिन मुस्किल हुने गरेको निर्देशक हरिमान श्रेष्ठले बताउनुभयो । नाचको सुरुको दिन पूजाआजा गरी चलाख मानिसको नाच देखाइएको थियो । त्यसपछि दोस्रो दिन बाथःप्याखं, तेस्रो दिन सती वनेगु, उषाहरण लीला, उषाहरण लीला देवी प्याँख, युद्ध कला वानासुर या सहस्रभुज त्वाल्हाइगु, मधु कैटव वध नाच अहिलेसम्ममा देखाइसकिएको छ । आज बराह अवतार नाच देखाइन्छ । बुधबार नृसिंह अवतार र बिहीबार वस्त्रहरण लीला नाच देखाएर यस वर्षको कात्तिक सम्पन्न हुनेछ । लामो समयसम्म देखाइने नाच भए पनि यस नाचमा हरेक दिन फरकफरक विषयवस्तुलाई आकर्षकरुपमा प्रस्तुत गर्ने गरिन्छ । तीन सय ७० वर्ष पुरानो इतिहासलाई यस नाचमार्फत स्मरण गर्न खोजिएको छ । यो नाच मल्लकालदेखि सञ्चालन गरेकाले यसले त्यस समयको कला धर्म संस्कृतिलाई विशेषरुपमा प्रतिबिम्ब गरेको छ । “नाचको सुरुको दिनमा दर्शकको सहभागिता केही कम हुने गरेको भए पनि पछिल्ला दिनमा पाटनको मङ्गलबजार पूरै भरिभराउ हुन्छ” लामो समयदेखि नियमित रुपमा नाच हेर्दै आउनुभएका सुरेशमान लाखेले आफ्नो अनुभव सुनाउनुभयो । लाखे भन्नुहुन्छ, “सबैको पहलमा यस नाचलाई हरेक वर्ष सञ्चालन गर्नुपर्छ जसले गर्दा मल्लकालीन कला संस्कृतिको जगेर्ना हुन्छ, जुन देशको ठूलो सम्पत्ति हो ।” यो नाच ललितपुरको मात्र नभई सिङ्गो राष्ट्रको राष्ट्रिय सम्पदा, परम्परागत संस्कृति जोगाउने नाच रहेको भए पनि नेपाल सरकारको तर्फबाट राम्रो सहयोग प्राप्त नभएको आयोजकले गुनासो गरेका छन् । स्थानीयस्तर र सरकारको तर्फबाट सहयोग जुट्ने हो भने यस नाचलाई अझै पनि कात्तिक महिनाभर पूरै सञ्चालन गर्न सकिने भएकाले समुदाय र सरकारसँग सहयोग गर्नका लागि समितिले विनम्र अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]