अमेरिकी राष्ट्रपति ओबामाको अनुरोधमा उत्तर कोरियाली नेता किमद्वारा अमेरिकी बन्दी रिहा गरेको दाबी


unअमेरिकी राष्ट्रपति बाराक ओबामाको पटकपटक अनुरोधमा उत्तर कोरियाली नेता किम जोङ–उनले उहाँको मुलुकमा फौजदारी अभियोगमा हिरासतमा रहेका अमेरिकी नागरिक जेफ्री फावललाई रिहा गर्न आदेश दिनुभएको प्योङयाङले बुधबार दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले ५६ वर्षीय फावललाई कानुनी प्रक्रिया अनुसार अमेरिकी अधिकारीहरुलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ । उत्तर कोरियामा हिरासतमा रहेका तीन व्यक्तिमध्ये फावल एक हुन् । उनलाई मङ्गलबार रिहा गरिएको हो र प्योङयाङ आइपुगेको अमेरिकी सरकारको एक विमानमा उनलाई जान अनुमति दिइयो । फावल अप्रिल महिनामा उत्तर कोरिया प्रवेश गरेका हुन् र उनलाई उत्तरी चोङजिन बन्दरगाहमा एक रात्रिक्लबको स्नानागारमा बाइबल छोडेको आरोपमा पक्राउ गरिएको थियो । उत्तर कोरियामा अनुमति प्राप्त नभएको धर्मिक कार्यलाई फौजदारी अपराधको रुपमा लिइन्छ । अमेरिकी विदेश मन्त्रालयले फावलको रिहाइको घोषणा गरेको थियो तर उनलाई कसरी रिहा गरियो भन्ने विषयमा जानकारी दिइएको थिएन । हाल अन्य दुई अमेरिकी नागरिक म्याथ्यु मिलर तथा केनेथ बीलाई कोरियामा कडाश्रमयुक्त काराबासमा राखिएको थियो । वासिङ्टनले यस्ता व्यक्तिलाई उत्तर कोरियाले राजनीतिक बन्धकको रुपमा प्रयोग गरेको आरोप लगाउँदै उनीहरुलाई तत्कालै रिहा गर्न आग्रह गरेको छ । अमेरिकाले यी बन्धकलाई रिहा गर्न आफ्नो दूत पठाउन गरेको आग्रहलाई प्योङयाङले निरन्तर रुपमा अस्वीकार गरेको छ । फावललाई मुलुकबाट बाहिर लैजान वासिङ्टनलाई प्योङयाङले समयसीमा दिएको र पेन्टागनले उनलाई फर्काउन विमान पठाउने निर्णय गरेको अमेरिकी अधिकारीहरुले जानकारी दिए । अमेरिकाको उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध छैन । अमेरिकी विदेश मन्त्रालयले मिलर तथा बीलाई मुक्त गर्न निरन्तर काम गर्ने र आफ्ना दूत रोबर्ट किङ्लाई यस विषयमा छलफल गर्न उत्तर कोरिया पठाउने प्रस्ताव राखेको छ । चौबीस वर्षीय मिलरलाई अध्यागमनमा प्रवेशाज्ञा च्यातेको भनी अप्रिल महिनामा पक्राउ गरिएको थियो । उनलाई सेप्टेम्बर महिनामा छ वर्षको कडाश्रम युक्त काराबासको सजाय तोकिएको थियो । बयालीस वर्षीय बीलाई सन् २०१२ मा उत्तर कोरियाको शासन उल्टाउने मनसाय राखेको भनी पक्राउ गरिएको थियो र उनी हाल १५ वर्षको काराबासमा रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]