प्रधानमन्त्री सुशील कोइरालाबाट देशवासीका नाममा शुभकामना, आन्दोलनको उपलब्धी संस्थागत गर्ने जिम्मेवारी पूरा होस् भन्ने कामना


?????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि जनताले गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई संस्थागत गर्ने जिम्मेवारीलाई पूरा गर्न सबैले साथ दिनुपर्ने खाँचो औँल्याउनुभएको छ । महान चाड दीपावलीसहित तिहारको अवसरमा उहाँले आज दिनुभएको सन्देशमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट उक्त ऐतिहासिक जिम्मेवारी पूरा गरी मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराउन सकिने भएकाले सबैको साथ आवश्यक भएको उल्लेख गर्नुभएको छ । उहाँले नयाँ परिवेशमा मनाउन लागिएको तिहारले नेपालीले बढो उत्साह र अपूर्व सहभागिता जनाएर निर्वाचित गरेको संविधानसभा अहिले लोकतान्त्रिक संविधान निर्माणमा सक्रियरूपले लागि परेको बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले सङ्घीयता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको निर्माण भएपछि मात्र राजनीतिक र संवैधानिक सङ्क्रमण पार गरी विकासमा लाग्ने अवसर प्राप्त हुने उल्लेख गर्दै भन्नुभएको छ–‘दीपावलीले नेपालको अभिसापका रूपमा रहेको सबै खालका अँध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस् ।’ समस्त नेपालीको मन मष्तिष्कमा देश र जनताको समुन्नतिको लागि सत्कार्य गर्ने, सत्विचार सिर्जना गर्ने प्रेरणा दिन सकोस् भन्ने कामना गर्दै उहाँले सन्देशमा भन्नुभएको छ– सबै नेपालीमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् । सबै राजनीतिक दलका नेताहरूलाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस् । प्रधानमन्त्री कोइरालाले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, मौलिक भेषभूषासहितका विविधता नेपालीको राष्ट्रिय पहिचान बनेकोे बताउनुभएको छ । नेपालीको बन्धुत्व भावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उल्लेख गर्दै उहाँले तिहारले एकतालाई अझ मजबूत बनाएको, यमपञ्चकका हरेक दिनले समस्त नेपालीमा नयाँ उमङ्ग सिर्जना गरेको, सबै दिदीबहिनी र दाजुभाइबीचमा मधुर र आफन्तबीचमा सौहाद्र्र सम्बन्ध विकसित गर्न सघाएको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]