तेस्रो सरकारी टेलिभिजन प्रशारण आरम्भ, समाचार र समाचारमूलक कार्यक्रम प्रशारण गर्ने


नेपाल टेलिभिजन (एनटिभी)ले आजदेखि नयाँ समाचार प्रसारण च्यानल सुरु गरेको छ । एनटिभीले अब २४सै घण्टा निरन्तर रूपमा समाचार च्यानलमार्फत आम दर्शकलाई श्रव्य दृश्यका माध्यमबाट समाचार, सूचना र जानकारी छिटोभन्दा छिटो पस्कने छ । नयाँ च्यानलसँगै अब एनटिभीका तीनवटा प्रसारण च्यानल भएका छन् । एनटिभी राष्ट्रिय प्रसारण र एनटिभी प्लस प्रसारण च्यानल यसअघि नै सञ्चालनमा रहेका छन् । विसं २०४२ साउन २९ गते एनटिभीले नेपालमा टेलिभिजनको सफल प्रसारण सुरु गरेको थियो भने विसं २०६० देखि एनटिभी प्लस प्रसारण च्यानल थप भएको थियो । हाल स्याटेलाइटमार्फत विश्वका ११६ देशमा एनटिभी हेर्न सकिने एनटिभीका महाप्रबन्धक लक्ष्मण हुमागार्इंले जानकारी दिनुभयो । पहिलो चरणमा नयाँ समाचार प्रसारण च्यानलको अवधि बिहान ५ः४५ देखि मध्याह्न ११ः३० बजेसम्म करिब छ घण्टाको रहने छ । यस अवधिमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय समाचार, विश्लेषण, सूचना एवम् जानकारी पस्किने महाप्रबन्धक हुमागाईंले बताउनुभयो । सरकारले विसं २०५८ देखि निजी क्षेत्रलाई टेलिभिजन प्रसारणको इजाजत दिएको थियो । त्यसपछि हालसम्म करिब ४० भन्दा बढी संस्थाले टेलिभिजन सञ्चालनको अनुमति पाइसेकेका छन् । तीमध्ये १४ वटा टेलिभिजनका प्रसारण सिग्नल नेपाली आकाशमुनि सञ्चालनमा रहेका छन् । एनटिभीका अध्यक्ष निर शाहले आवाजविहीनहरूको आवाजलाई मुखरित गर्न नेपाल टेलिभिजनले नयाँ अध्याय सुरु गरेको प्रसारणको आरम्भमा दिएको अन्तर्वार्तामा बताउनुभयो । अध्यक्ष शाहले एनटिभीको भूमिकालाई विस्तार गर्दै राष्ट्रिय जीवनका गतिविधिलाई निष्पक्ष रूपमा पस्कने ध्येय नयाँ समाचार च्यानलको हो भन्नुभयो । महाप्रबन्धक हुमागाईंले निकट भविष्यमा नयाँ समाचार प्रसारण च्यानललाई २४सै घण्टा बनाउने जानकारी दिनुभयो । एनटिभीका समाचार निर्देशक राजेन्द्रदेव आचार्यले एनटिभीको मूल नीतिअनुरूप नयाँ च्यानल सुरुवात् गरिएको हो भन्नुभयो । पहिलो प्रसारणका अवसरमा पत्रकारिता विषयका प्राध्यापकद्वय रामकृष्ण रेग्मी र पी खरेलले विशेष अन्तवार्ता दिँदै जनताले चाहेका सूचना र जानकारी नयाँ च्यानलमा हेर्न सकियोस् भन्नुभयो । हाल एनटिभीको राष्ट्रिय प्रसारण ७० प्रतिशत जनताको पहुँचमा पुगेको बताइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]