एमालेको चियापानमा नेताहरुको जुहारी, लचकता प्रदर्शन गर्नुपर्ने सबैको प्रतिक्रिया, तर प्रदर्शन गर्ने कसले ?


प्रधानमन्त्री सुशील कोइरालाले सबै पार्टीले निर्वाचनका बेलामा जनतासमक्ष एक वर्षभित्रै संविधान बनाउने वाचा गरेकाले निर्धारित मितिमै संविधान जारी गर्नुपर्छ भन्नुभएको छ । नेकपा (एमाले)ले बडादसैँ, तिहार र छठका अवसरमा पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजना गरेको चियापान समारोहमा पत्रकारको जिज्ञासामा उहाँले त्यसका लागि राम्रो वातावरण बन्नुपर्ने बताउँदै वार्ता, सहमति, सहकार्य, एकता एवं मेलमिलापबाट सबै खाले समस्याको समाधान निस्कने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि पहिलो प्राथमिकता अधिकतम सहमति खोज्नु नै हो भन्दै हामीहरु सहमतिकै लागि प्रयत्नशील छौँ भन्नुभयो । “म लटरपटर कुरै गर्दिन, जनता र देशप्रति हाम्रो जिम्मेवारी छ, गरिबी हटाएर देश विकास गर्नुपर्छ, त्यसका लागि सबै मिलेर जानुपर्छ,” कोइरालाले भन्नुभयो । उहाँले देशमा भएका कुनै पनि समस्या समाधान नहुने खालका छैनन् तर समाधानका लागि वातावरण बन्नुपर्छ भन्दै जलविद्युत्, कृषि, पर्यटन र औद्योगीकरणमार्फत आठ दश वर्षमा देश विकास गर्न सकिन्छ, त्यसको प्रचुर सम्भावना पनि छ भन्नुभयो । प्रधानमन्त्रीले थोरैभन्दा थोरै सङ्ख्यामा प्रदेश बनाउनुपर्ने र प्रदेश बनाउँदा आर्थिक रुपले धान्न सक्ने गरी बनाउनुपर्छ भन्नुभयो । “धेरै सङ्ख्यामा बनाएर पछुताउनु भएन, बरु आर्थिक रुपले सम्पन्न भएपछि बढाउँदा केही भएन नि, अहिले त थोरै सङ्ख्यामा बनाउँदा नै राम्रो हुन्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।
शतप्रतिशत सहमतिको कुरा भन्न सकिन्नःओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतासमक्ष गरिएको कवुलअनुसार हामी हिँड्छाँै र माघ ८ गतेभित्र संविधान बन्छ भन्नुभयो । “सम्भव कुरा गरेर एकताका साथ संविधान बनाउँछौँ, पार्टीका विचार र कार्यक्रममा भिन्नता भए पनि संविधान बनाउने कुरामा एकरुपताका साथ अघि बढ्नुपर्छ, सहमतिका लागि प्रयास जारी छ,” ओलीले भन्नुभयो । उहाँले संविधान बनाउनका लागि प्रयास जारी छ, शतप्रतिशत सहमतिको धेरै कुरा म भन्न सक्दिन भन्नुभयो । “शतप्रतिशत भएन भने पनि आवश्यक सहमतिका साथ संविधान जारी हुन्छ नत्र संविधान जारी हुनै सक्दैन, सहमति हुन्छ, हामी कुराकानीमा छौँ,” नेता ओलीले भन्नुभयो ।
सबैले केही न केही अडान छाड्नुपर्छ ः देउवा
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउनका लागि काँग्रेस लचिलो भएको र अरु पार्टी पनि लचिलो हुनुपर्छ भन्नुभयो । उहाँले काँग्रेस, एमाले, एमाओवादी र मधेसकेन्द्रित दलले भने जस्तो मात्रै हुँदैन, सबैले केही न केही कुरा छाड्नपर्ने र लचिलो हुनुपर्ने औँल्याउँदै सबै दलले सहमतिका लागि आआफ्नो अडानमा केही न केही छाड्नपर्छ र ललिचो भएर सहमति गर्नुपर्छ भन्नुभयो । “काँग्रेस लचिलो भइसकेको छ, अब एमाओवादीका अध्यक्ष दाहाल लचिलो हुुनुपर्छ,” देउवाले भन्नुभयो ।
संविधान बन्छ कि बन्दैन भन्ने दाहालमा निर्भर छ ः नेपाल
एमालेका नेता माधवकुमार नेपालले संविधान बन्छ कि बन्दैन भन्ने कुराको अन्तिम फैसला एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालमा निर्भर रहन्छ भन्नुभयो । “मूलतः उहाँ (अध्यक्ष दाहाल)को लचिलोपनाले संविधान निर्माणको स्थिति बन्छ, अरुले पनि आपसी सहयोग गर्नुपर्छ,” नेपालले भन्नुभयो ।
कसैले पनि अहङ्कार राख्न हँुदैन ः दाहाल
एमाओवादीका अध्यक्ष दाहालले खाली एमाओवादीलाई मात्र अरु दलका नेताले लचिलो हुनुपर्छ भनेकामा कटाक्ष गर्दै सबभन्दा बढी एमाओवादी लचिलो भएको छ बरु अब उहाँहरु (काँग्रेस, एमाले) लचिलो हुनुप¥यो भन्नुभयो । “म के कुरा प्रस्ट पार्न चाहन्छु भने मैले युद्धबाट शान्तिमा आउन, शान्तिप्रक्रियाबाट संविधानसभामा जान, संविधानसभाबाट गणतन्त्र, सेना समायोजन हतियार व्यवस्थापन सबैतिर लचकता देखाएकै छु, अहिले पनि हामीले आफ्ना ठाउँबाट लचकता देखाएर सहमतिको संविधान बनाउन पूरै प्रयास गर्छौं, काँग्रेस, एमालेले पनि आफ्नो ठाउँबाट लचकता देखाउनैपछ, हामी कसैले पनि अहङ्कार राख्न हुँदैन,” दाहालले भन्नुभयो । नेता दाहालले आन्दोलन पनि सहमतिका लागि भएको स्पष्ट गर्दै कुनै उतारचढावले मात्रै सहमतिको वातावरण बिथोलिन हुँदैन भन्नुभयो । “सहमतिको विकल्प छैन, सहमति बनाउनेतर्फ सबै अग्रसर हुनुपर्छ, किनकि सहमतिको प्रक्रिया बाह्रबुँदे हँुदाबाट नै सुरु भएको हो र अबको समस्या पनि सहमतिबाटै टुङ्ग्याउनुपर्छ,” दाहालले भन्नुभयो ।
कात्तिक १५ भित्र समितिले काम सक्नुपर्छ ः सिटौला
काँग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अब यही कात्तिक १५ गतेभित्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले चाहे सहमति निर्माण गरेर होस् वा चाहे प्रश्नावली तयार गरेर संविधानसभामा प्रतिवेदन पेस गर्न सकेन भने माघ ८ गते संविधान जारी गर्न सकिन्न भन्नुभयो । “मस्यौदा गर्नुपर्छ, जनतामा पठाउनुपर्छ, पुनः संविधानसभामा ल्याएर छलफल गर्नुपर्छ, पुनःपरिमार्जन गर्नुपर्छ, अनि मात्र अन्तिम समयमा हामी त्यसलाई विधेयकका रुपमा संविधानसभामा लानुपर्छ, यी सबै प्रक्रियाले गर्दा समय अत्यन्त साँघुरो भएको छ,” सिटौलाले भन्नुभयो । उहाँले कात्तिक १५ गतेभित्र संवाद समितिले पहिलो चरणको आफ्नो सम्पूर्ण कार्यभार सम्पन्न गर्नुपर्छ भन्दै सहमति भएका बुँदामा सहमतिको प्रतिवेदन र सहमति नभएको बुँदामा अब पनि प्रयास जारी छ नभनी प्रश्नावली तयार गरेर संविधानसभामा पेस गर्न सक्नुपर्छ भन्नुभयो ।

लोकतान्त्रिक संविधान बनाउन सहमति आवश्यक छ: केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले या त आफ्नो कुरा अरुलाई मनाउनुप¥यो, आफ्नो कुरा अरुले मानेनन् भने गणितीय हिसाबले हुन्न भन्ने कुरा सरासर अधिनायाकवादी सोच हो, प्रजातान्त्रिक प्रक्रियाबाट गएर सहमतिको संविधान जारी गर्नुपर्छ भन्नुभयो । उहाँले अझै पनि समय छ भन्दै राजनीतिक पार्टीले संविधानका अन्तर्वस्तुसँग आफ्नो असहमति भए पनि लोकतान्त्रिक संविधान बनाउन सहमति गर्नुपर्छ भन्नुभयो । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले यो अन्तिम संविधानसभा भएकाले यसमा सहमतिबाट संविधान बन्छ भन्नुभयो । उहाँले सहमति भएन भने मात्रै प्रक्रियामा जाने हो भन्दै सहमति हुने सम्भावना अझै रहेकाले प्रक्रियामा जान नहुने बताउनुभयो । “ प्रक्रियामा जाँदा केही नकारात्मक दूरगामी असर पर्ने खतरा भएकाले त्यसबाट बच्न सहमति गर्नुपर्छ” उहाँले भन्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिबाटै संविधान बन्छ, त्यसका लागि सबै दलबीच कुराकानी भइरहेको छ भन्नुभयो । उहाँले दलबीच र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानका विवादित विषयमा सहमतिको प्रयास जारी रहेकाले सहमतिबाटै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]