इबोलाबाट हालसम्म ५ हजारको मृत्यु, नियन्त्रणका लागि राष्ट्रपति ओबामाको आग्रह


यस वर्षको सबैभन्दा कठिन स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको इबोलाका विरुद्ध लड्न विश्वका नेताहरूले सबै समक्ष आग्रह गरेका छन् । उनीहरूले इबोला यसवर्षको स्वास्थ्य सङ्कट नै हो भन्दै संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई आग्रह गरेका छन् । विश्वका नेताहरूले यो समस्याले गर्दा विश्व नै तनावमा रहेको भन्दै यसका कारणका बारेमा अझै गहिराईमा पुगेर अनुसन्धान गर्न र उपचारका प्रभावकारी विधिहरू अपनाउन पनि आग्रह गरेका छन् । हालैका दिनमा इबोला सङ्क्रमणका कारण अवस्था अत्यन्तै कठिन बन्दै गएको र यसको उपचारका लागि आवश्यक मात्रामा प्रविधि र रकम पनि पाउन नसकिएको भन्दै पश्चिम अफ्रिकी देशहरूबाट सो गुनासो आइरहेका बेला यसको फैलावटको खतराबाट बच्नका लागि विश्व समुदायसँग आग्रह गरेका छन् । उनीहरूले यस सङ्क्रमण विश्वको नै एक प्रमुख समस्याका रूपमा देखिएको भन्दै समाधानका लागि विश्वका सबै देशले आवश्यक मात्रामा मापदण्डहरू अपनाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राज्य टेक्सासमा यो सङ्क्रमण दोस्रो पटक भेटिएसँगै विश्वसँग नै यो आग्रह गर्नुभएको हो । विश्वमा जारी रहेको इबोलाको प्रकोप कम गर्नका लागि भइरहेका प्रयासहरू र त्यसमा संयुक्त राष्ट्रसंघको अग्रसरता र अगुवाईका बारेमा महासचिव बान कि मुनसँग पनि उहाँले गत सोमबार परामर्श गर्नुभएको थियो । यो सङ्क्रमणपछि उपचारमा संलग्न चिकित्सकले इबोलाको उपचार निकै कठिन भएको, आवश्यक औषधि एवम् उपकरणहरू पनि नरहेको भन्दै यसका लागि आफूहरूलाई थप सहायता चाहिने माग गरेका छन् । उहाँले यसलाई यसरी खतराको रूपमा मात्र विश्वव्यापी रूपमा लिनुभन्दा पनि यसको नियन्त्रणका लागि कामगर्ने काममा बढी लाग्न भन्नुभएको छ । पश्चिमी अफ्रिकी देशमा यसको प्रकोप निकै नै फैलिएको छ । जसका कारण त्यहाँ समस्या उत्पन्न भएको छ । कतिपय स्वास्थ्यकर्मी नै यसबाट सङ्क्रमित भएका पनि बताइएको छ । जसले गर्दा उपचारको काम निकै नै कठिन भएको छ । विशेषगरी पश्चिमी अफ्रिकी देशहरू गुयना, सिएरालियोन र लाइबेरियामा यस प्रकोपबाट कयौँ व्यक्तिको ज्यान गएको छ । राष्ट्रपति ओबामाले बेलायत, जर्मनी, फ्रान्स र इटालीलाई विशेष सम्बोधन नै गरी इबोला नियन्त्रणको उपायमा जतिसक्यो धेरै समन्वय गर्न आग्रह गर्नुभएको हो । सो भाइरसको सङ्क्रमण हाल युरोप र अमेरिकामा पनि देखिइसकेको छ । अमेरिकामा गतमहिना नै यो सङ्क्रमण देखा परेको हो । टेस्सासमा यो सङ्क्रमण दोस्रो पटक पनि देखा परिरहेको छ । विशेषगरी पश्चिमी अफ्रिकी देशहरूमा ठूलो महामारीको रूप लिइरहेको इबोला भाइरसले अक्टोबर ८ सम्ममा विश्वका करिब चार हजार नागरिकको ज्यान लिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले आगामी केही समय यसको फैलावट झनै खतरनाक हुँदैजाने भन्दै यसको आतङ्क रोक्नका लागि विश्व समुदायसँग आग्रह पनि गरेको छ । यो सङ्क्रमण युरोपमा प्रवेश पाएसँगै विश्वव्यापी रूपमा आतङ्क नै मच्चिएको छ । चिकित्सा अधिकारीहरूले इबोला विश्वमा एड्सपछिको अर्काे ठूलो खतरनाक सङ्क्रमण भएको बताइरहेकै बेला विश्व स्वास्थ्य संगठनको यो भनाई आएको हो । विश्व स्वास्थ्य संगठनले गत शनिबार दिएको जानकारीअुनसार सो सङ्क्रमणबाट गत आइतबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ५ हजार रहेको जनाइएको हो । विशेषगरी पाँचवटा पश्चिमी अफ्रिकी मुलुकमा यसको प्रकोप बढिमात्रामा रहेको थियो । मृत्यु हुनेमा अधिकांश तिनै देशका व्यक्तिहरू रहेको बताइएको छ । सो सङ्क्रमणबाट गत आइतबारसम्म करिब नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमित भएकाहरूको उपचार भइरहेको बताइए पनि यसको प्रभावकारी रूपमा औषधोपचार प्रयोगमा आउन सकिरहेको छैन । अमेरिकामा यसको उपचार पत्ता लागेको भए पनि त्यो सर्वसुलभ भने हुन सकिरहेको छैन । विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसंघले सो उपचारको बारेमा निकै खोज गरिरहेका छन् । तर त्यो सम्भव हुन सकिरहेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]