हिउँमा फसेका १२ जनाको शव प्राप्त, सत्तरी जनाभन्दा बढी सम्र्पकविहीन (अपडेट)


मुस्ताङको थोराङ पासमा हिउँमा फसेर हराएका मध्ये बुधबार साँझसम्म १२ जनाको शव भेटिएको छ भने सत्तरी जनाभन्दा बढी सम्र्पकविहीन छन् । मनाङ र मुस्ताङ जिल्लाको सिमानामा ड्रम्पक्यापमा मङ्गलबार हिउँ परेपछि हराएका मध्ये १२ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पाँच नेपाली, तीन इजरायली, तीन पोल्यान्डेली र एक भियतनामीको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिनुभयो । चार जनाको शव सेनाको हेलिकप्टरमार्फत साँझ काठमाडौ लगिएको छ । आठ जनाको शव घटनास्थलमै रहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले १९ घाइतेको उद्धार गरेको छ । १४ जना घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ । एकजनाको जोमसोम जिल्ला अस्पतालमा उपचार भैरहेको छ । चारजना आफ्नो गन्तब्यतर्फ लागिसकेको बताइएको छ । मृतक र घाइते कसैको पनि सनाखत भएको छैन । मनाङबाट मुस्ताङतर्फ लागेका धेरै पर्यटक र तिनका सहयोगी सम्र्पकविहीन छन् । प्रनाउ पाठकका अनुसार असोज २६ गते मनाङबाट मुस्ताङ तर्फ हिँडेका ३४६ जनामध्ये मुस्ताङको मुक्तिनाथमा २४४ जना सकुशल आइपुगेका छन् । सम्र्पकविहीन ७० जना भन्दा बढी सम्र्पकमा नरहेको प्रनाउ पाठकले बताउनुभयो । थोराङ पास नाघ्नेहरुका लागि यो याम अनुकूल मानिन्छ । धेरै पर्यटकहरु यो याममा अन्नपूर्ण पदयात्राको साहसिक गन्तब्य थोराङ पासमा निस्कने गर्छन् । नेपाली सेनाको टोली मङ्गलबार राति नै उद्धारका लागि घटनास्थल पुगेको थियो भने बुधबार बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति उद्धारमा परिचालन गरिएको थियो । पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ पास नाघेका पर्यटकहरु मुस्ताङ र मनाङको सिमानामा पर्ने ड्रम्पक्यापमा आइपुग्दा हिउँ पर्न सुरु भएको थियो । थोराङ पास क्षेत्रमा थप मानिसहरु फसेको हुन सक्ने भएकाले थोराङफेदीमा अस्थायी शिविर राखेर उद्धार र खोजी कार्य बिहीबार पनि जारी राखिने भएको छ । पाँच हजार मिटरको उचाइमा अवस्थित घटनास्थल पुग्न मुक्तिनाथबाट करिब चार घण्टा पैदल हिड्नुपर्छ । घटनास्थलमा पाँच फिटसम्म बाक्लो हिउँ परेको छ ।
टानको सक्रियता
ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सक्रियतामा गृहमन्त्रालयमा बसेको संयुक्त बैठकले उद्धारका लागि एउटा निजी र दुई वटा नेपाली सेनाको गरी तीनवटा हेलिकोप्टर र स्याटेलाइट फोनसहित अनुभवी प्रतिनिधिहरु घटनास्थल पठाउने निर्णय गरेको छ । टानका अध्यक्ष रमेश धमलाका अनुसार उद्धार टोलीको नेतृत्व टानका कार्यसमिति सदस्य आङ्ग पेम्बा शेर्पा र पासाङग टेन्डी शेर्पाले गर्नुहुनेछ । उहाँहरुको २० लाख रुपैँया बराबरको दुर्घटना बिमा तथा औषधोपचार टानले नै गरिदिने निर्णय गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र प्राकृतिक विपद्मा परी पदयात्री पर्यटक वा नेपाली सहयोगी मजदुरहरु कोही अलपत्र परेका भए यथार्थ विवरण टानमा पठाउन सदस्य कम्पनीहरुलाई टानले आव्हान गरेको छ ।
सेनाद्वारा पदयात्रीको उद्धार
जोमसोममा रहेको नेपाली सेनाको उद्धार टोली र बुधबार बिहानै काठमाडाँैबाट हेलिकप्टरसहित गएको थप खोज तथा उद्धार टोलीले थोराङ पास र एक्लेघट्टी इलाकाको बीचमा पर्ने ड्रम्प क्याम्प इलाकाबाट अलपत्र परेका स्वदेशी तथा विदेशी पदयात्रीलाई उद्धार गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले चार पदयात्रीलाई मृत अवस्थामा फेला पारेको र अन्य १८ जनालाई जीवितै उद्धार गरी मुक्तिनाथ इलाकामा ल्याएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । सेनाले आज पनि उद्धार कार्य जारी राख्ने भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]