कांग्रेस र माओवादीले संघीय गठबन्धनसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्ने मन्त्री लेखकको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार गरिएको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको दोस्रो बैठकको निर्णयसँगै तीन बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको भन्दै यो ऐतिहासिक कदमले सकारात्मक प्रभाव पारेको दाबी गर्नुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णयसँगै मधेसी मोर्चासहितको संघीय गठबन्धन संविधानका विषयमा छलफल गर्न तयार भएको स्पष्ट पार्नुभयो । संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको उहाँको भनाइ थियो ।
मन्त्री लेखकले संविधानको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तह र निकायको निर्वाचन गर्नुपर्ने भएकाले यसका लागि सरकार आवश्यक कानुन निर्माणको लागि अघि बढ्ने स्पष्ट पार्नुभयो ।