नेवि संघको महाधिवेशन आइतबारबाट काठमाडौंमा हुने, उम्मेदवारी घोषणा गर्नेको बाढी, के भन्छन् प्रत्यासी ?


Nabisanghनेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ९ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनमा आधा दर्जनभन्दा बढीले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा अध्यक्षका प्रत्यासीहरूले अबको नेतृत्व स्वस्थ प्रतिष्पर्धाबाटै चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले टिके प्रथाबाट आए संगठन धरासायी र नेपालको विद्यार्थी आन्दोलन नै कमजोर हुने दाबी गरेका छन् ।

अध्यक्षका प्रत्यासी नैनसिंह महरले टिके प्रथामा कसैले विश्वास गर्न नहुने भन्दै अबका नेतृत्व प्रजातान्त्रिक मुल्य र मान्यता अनुरुप प्रतिनिधिहरुको भोटिङ्बाट आउनुपर्ने बताउनुभयो । उहाँले आफू नेतृत्वमा पुगे भ्रष्टाचारमुक्त, शैक्षिक प्रशासन, नेविसंघ कल्याणकारी कोष अघि बढाउने, संगठनलाई गतिशील र अनुशासित बनाउने दाबी गर्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी मनोजमणि आचार्यले ११ औं महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै महाधिवेशनलाई यो वा त्यो बहानामा अन्योलमा पार्ने काम भइरहेकोमा आक्रोस व्यक्त गर्नुभयो । उहाँले आफू पार्टीको आधिकारिक उम्मेदवार भएको भन्दै संगठनलाई बलियो, अनुशासित बनाउन र भोलिको बलियो काँग्रेस बनाउनका लागि आफूले उम्मेदवारी दिएको दाबी गर्नुभयो ।

प्रत्यासी शुभराम बस्नेतले प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै प्रतिनिधिहरुले नेतृत्वमा आकांक्षीहरुको कामको मुल्यांकन गर्ने बेला आएको बताउनुभयो । उहाँले लामो समयदेखि विद्यार्थीको हक अधिकारको लागि आफू लड्दै आएकाले नेतृत्वमा पुगे संगठनलाई सशक्त र प्रभावकारी बनाउने दाबी गर्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी सरोजकुमार थापाले आफू गुटगत नेता भन्दा पनि विद्यार्थीहरुको साझा उम्मेदवार भएको दाबी गर्नुभयो ।

प्रत्यासी रामप्रसाद अधिकारीले गणतान्त्रिक आन्दोलनमा आफूले अग्रणी भुमिका खेलेको भन्दै तमाम नेविसंघका साथीहरुले आफ्नो योगदानको कदर गर्ने वेला आएको बताउनुभयो । उहाँले अबको नेतृत्व कुनै हालतमा भागबण्डाबाट नभई अधिवेशनबाटै चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्षका अर्का प्रत्यासी कुन्दनराज काफ्लेले विधिवत महाधिवेशनको पक्षमा आफू रहेको भन्दै मुलुकको शैक्षिक कुरीतिको विरुद्धमा लड्न र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनको लागि आफ्नो उम्मेद्धवारी रहेको बताउनुभयो ।

प्रत्यासी क्षितिज भण्डारीले संगठनलाई बलियो र सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै चुनावी मैदानमा आफू सबैको साझा उम्मेदवार बनेको र सबै पक्षलाई समेटेर संयुक्त प्यानल बनाएर अघि बढ्ने बताउनुभयो ।

त्यस्तै अध्यक्षकी महिला उम्मेदवारी विनिता अधिकारीले नेविसंघ भित्रका चुनौति सामना गर्दै अघि बढ्ने प्रणका साथ आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

प्रत्यासी आनन्द त्रिपाठीले विद्यार्थीहरुले आफ्नो नेतृत्व चुनावी माध्यमबाट चयन गर्न पाउनुपर्ने भन्दै संगठन हाक्न सक्ने व्यक्तित्व स्वच्छ प्रतिस्पर्धाबाटै छनोट गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रत्यासी दिपक भट्टराईले आफू नेताको भन्दापनि विद्यार्थीहरुको साझा उम्मेदवार भएको उल्लेख गर्दै अहिलेको २१ औं शताब्दी अनुसार नै नेविसंघलाई नेतृत्व प्रदान गर्न सक्षम रहेको दाबी गर्नुभयो ।

प्रत्यासी निलकण्ठ रिजालले टिका लगाएर भन्दापनि निर्वाचनको माध्यमबाटै नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीको हकहितको लागि आफू लागीपर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्षका अर्का प्रत्यासी रत्न कार्कीले सैद्धान्तिक र वैचारिक रुपमै संगठनलाई बलियो र सशक्त बनाउनकै लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफू निर्वाचित भए काम र विचारको दृष्टिकोणले संगठनलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रत्यासी लक्ष्मण आचार्यले अबको नेतृत्व गुटको आधारमा भन्दा पनि उसको योग्यता, क्षमताबाट आउनुपर्ने बताउनुभयो ।

अध्यक्षका अर्का प्रत्यासी पदमराज पन्तले विधान र विधिसम्वद्ध तरिकाले अबको नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रत्यासी विरेन्द्र शर्माले नेविसंघको गुमेको शाखलाई माथि उठाउन र विद्यार्थी आन्दोलनाई गतिशिल बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको भन्दै प्रतिनिधिहरुले आफ्नो विवेकलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने जिकीर गर्नुभयो ।

३ हजार ४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनले १ सय ५१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । १ सय ५१ कार्यसमितिमा एक सय २९ निर्वाचित हुनेछन् भने २२ सदस्य अध्यक्षले मनोनित गर्न पाउनेछन् । १ अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री र निर्वाचित एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति १ सय ५१ सदस्यीय रहनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]