राष्ट्रसेवक हाइड्रो सञ्चालनमा ल्याउन निजामती कर्मचारी संगठनको माग

नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक हाइड्रो संचालनमा ल्याउन माग गरेको छ ।
संगठनले कर्मचारीहरुको सामाजिक सुरक्षाका लागि भन्दै राष्ट्रसेवक हाइड्रो संचालनमा ल्याउन माग गरेको हो । संगठनले हाइड्रो संचालनका लागि लगानी गर्न कर्मचारीहरु तयार रहेको समेत बताएको छ । संगठनले शक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी कर्मचारीहरुले ६७ वटा सहकारीमार्फत १ अर्ब १५ करोड रुपैयाँ पुँजी परिचालन गरिरहेको भन्दै सरकारले हाइड्रो संचालन गरे त्यसमा सहकारीको रकम लगानी गर्ने बताएको छ । संगठनका अध्यक्ष मोहन कुमार घिमिरेले कर्मचारीहरुको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि सरकारले राष्ट्रसेवक हाइड्रो संचालनमा ल्याउनुपर्ने र त्यसमा कर्मचारीहरुबाट संचालित सहकारीले लगानी गर्ने सुनिश्चितताका लागि सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गरिनुपर्ने बताउनुभयो ।
सहकारी सम्बन्धी विधेयक अहिले मन्त्रीपरिषद्मा विचाराधीन छ । संगठनले आफ्ना सदस्यहरुको सदस्यता नविकरणसँगै एक लाख रुपैयाँ बराबरको दुर्घटना तथा औषधी उपचार वीमा योजनाको कार्यक्रम पनि ल्याएको छ । संगठनले दशौं राष्ट्रिय अधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म नेपालगञ्जमा गर्ने निर्णय गरेको छ ।