सरकार र संघीय गठबन्धनबीच छलफल, गठबन्धनका माग पूरा गर्न सरकार तयार

सरकारले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गर्ने बारेमा मधेशवादी दलहरुसँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विहान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका नेतालाई सिंहदरबारमा बोलाएर आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गर्ने विषयमा छलफल गर्नुभएको हो । छलफलमा सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो ।
काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री चयनका दिन मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गर्ने तथा आन्दोलनका क्रममा भएका ज्यादत्ति छानविनका लागि न्यायिक समिति गठनको सहमति गरेका थिए ।
त्यहि सहमति कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले शुक्रबार बैठक गरेकामा मोर्चाका नेताहरुले सहमति कार्यान्वयनका लागि देखाइएको तत्परतालाई शुभ संकेत भनी टिप्प्णी गरेका छन् । मोर्चाका नेताहरुले आन्दोलनसँग सम्बन्धित माग सम्बोधन गर्न देखाएको तत्परता सकारात्मक भएको भन्दै संविधानसँग सम्बन्धित माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका छन् ।
पहिचान कायम हुने गरी प्रदेशको सीमांकन हेरफेरका लागि संविधान संशोधनको प्रस्ताव संसद्मा पेश गरिनुपर्ने मोर्चाको माग छ । काँग्रेस र माओवादी केन्द्रले त्यो माग सहमतिका आधारमा पूरा गर्ने प्रतिबद्धता सरकार गठन पहिले नै जनाइसकेका छन् ।