माओवादीले मन्त्री बनाएका चौधरी र श्रीपाली को हुन् ?

नेकपा माओवादी केन्द्रले दुई जना नयाँ अनुहारलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएको छ । यसअघि खासै चर्चामा नआउने गरेको र मन्त्री हुनेहरुको चर्चामा समेत नरहेका दलजित विक श्रीपाली र गौरीशंकर चौधरी मन्त्री बनेका छन् ।
पार्टीको सधैं निर्णायक ठाउँमा रहेका कृष्णबहादुर महरासँगै श्रीपाली र चौधरीले मन्त्रीको सपथ खाएका छन् । उनीहरु दुवै जना पूर्वलडाकु र सीमान्तकृत समुदायका हुन् ।
युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका दलजीत विक श्रीपाली ‘जनसेना’ का पूर्व कमान्डर हुन् । युद्धका क्रममा नै ब्रिग्रेड कमान्डर भएका श्रीपाली शान्ति प्रक्रियापछि तत्कालीन जनसेना प्रमुख नन्दकिशोर पुनको नेतृत्वको सैनिक प्रतिष्ठान हात्तीखोरमा सहायक डिभिजन कमान्डरसम्म बने । उनी माओवादीका समानुपातिक सांसद हुन् ।
यसैगरी पश्चिम नेपालका थारु समुदायका गौरीशंकर चौधरी पनि पूर्व लडाकु नै हुन् । उनी सातौं डिभिजनमा ब्रिगेड कमान्डर थिए । चौधरी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसदसमेत हुन् ।