संविधान कार्यान्वयन र राष्ट्रिय हितको जगेर्ना गर्ने देउवाको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन र राष्ट्रिय हितको जगेर्ना गर्न सबैको सकारात्मक साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले अबको सरकारको प्रमुख दायित्व राष्ट्रिय हितको जर्गेना र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण रुपमा सरकार परिवर्तन हुनु प्रजातन्त्रको सुन्दरतम् पक्ष भएको भन्दै अहिलेको प्रजातान्त्रिक अभ्यासलाई अस्वाभाविक रुपमा लिन नहुने जिकीर गर्नुभयो ।
स्थायी शान्तिको पक्षमा नेपाललाई अगाडि बढाउनुपर्ने भन्दै सभापति देउवाले स्थानीय, प्रान्तीय र प्रतिनिधिसभाको निर्वाचनमा जानुपर्ने र संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयन, भूकम्पपीडितलाई द्रूतरुपमा राहत प्रदान गर्ने, शान्ति स्थिरताको मार्गमा अगाडि बढाउन आफूहरु प्रयत्नशील रहने उहाँको भनाइ थियो ।
सभापति देउवाले ‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन’ भन्दै चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्न सरकार प्रतिबद्ध रहने बताउनुभयो ।