दाहाललाई समर्थन दिएसँगै उपेन्द्र यादवले दिए चेतावनी

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताले उठाएका विषय सम्बोधन नभएसम्म राष्ट्रिय एकता र सम्मृद्धि प्राप्त हुन नसक्ने बताउनुभएको छ ।
व्यवस्थापिका संसद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ संविधाका विषयमा मधेसमा असन्तुष्टि जनाइरहँदा संविधानसभाले बहुमतका आधारमा नयाँ संविधान जारी गरेकाले संविधान सर्वस्वीकार्य हुन नसकेको बताउनुभयो । उहाँले मधेस आन्दोलनका घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति, संविधान संशोधनलगायत विषयमा सहमति जनाएकाले नै आफूहरुले कांग्रेस–माओवादी गठबन्धन सरकारलाई समर्थन गरेको स्पष्ट पार्नुभयो ।
९ वर्षपछि ९ महिनाका लागि प्रधानमन्त्री हुन लागेका पुष्पकमल दाहालको काँधमा मधेसीका माग पूरा गराउने जिम्मेवारी आएको उहाँको भनाइ थियो । अध्यक्ष यादवले वर्षैपिच्छे सरकार परिवर्तन गर्ने परम्पराले मुलुकलाई आर्थिक रुपमा कमजोर मात्रै नभई दरिद्र नै बनाएर छोड्ने जिकीर गर्दै त्यही अनुभवका आधारमा दाहाललाई जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।