पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित, दोहो-याएर प्रधानमन्त्री हुने दाहाल पहिलो कम्युनिस्ट नेता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनमा दाहालको पक्षमा ३ सय ६३ मत आएको छ । उहाँ नेपालको ३९ औं प्रधानमन्त्री बन्नु भएको छ । दाहालको विपक्षमा २ सय १० मत परेको थियो । प्रधानमन्त्रीका लागि भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख ओनसरी दाहाल प्रधानमन्त्रीमा चयन भएकोमा बधाई दिनुभयो ।
१० बर्षे जनयुद्धको नेतृत्व गरेका दाहालको यो दोस्रोपटक सत्तारोहण हो । यसअघि उहाँ २०६५ सालमा प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री निर्वाचनमा उहाँ एक्लो उम्मेदवार हुनुहुन्थ्यो । दाहाललाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेको थियो । त्यसैगरी आन्दोलनरत मधेसी मोर्चासहित १६ दलले पनि दाहाललाई साथ दिएपछि उहाँ प्रधानमन्त्रीमा सहजै निर्वाचित हुनुभएको हो । उहाँ दोहो-याएर प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता बन्नुभएको छ ।
२०६३ साल असारमा खुला राजनीतिमा आउनुभएका दाहाल यसअघि २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुख बन्नुभएको थियो । कांग्रेसको समर्थन पाउने भएपछि माओवादी असार २८ गते केपी ओली नेतृत्वको सरकारबाट बाहिरिँदै असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।