घन्टाकर्ण अर्थात् गठेमंगल पर्व सम्पन्न, के हो गठेमंगल ?

साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घन्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार सोमबार मनाइयो ।
विशेषगरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सो पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप सोमबार बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटामा उभ्याइने चलन छ ।
बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली गठेमंगल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ ।
गोपाल वंशावलीअनुसार गठेमंगललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहासविद् प्रकाश श्रेष्ठले बताउनुभयो । जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवम् शत्रुबाट रक्षा प्राप्त गर्नाका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ ।