राष्ट्रिय एकता र राष्ट्र निर्माणको सङ्कल्प राखी काम गर्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्र निर्माणको सङ्कल्प राखी जनतालाई अधिकार सम्पन्न बनाउने तरिकाले काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित आठैप्रहर डटकम अनलाइन न्यूज पोर्टलको प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय दृष्टिकोणका साथ सबै जनतालाई अधिकार सम्पन्न बनाउन सञ्चारमाध्यमको भूमिका हुनुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय एकता, जैविक विविधताले भरिएको सुन्दर देश भएको भन्दै उहाँले थप्नुभयो, “सुन्दर देशमा छौँ, हाम्रै पुस्ताले समृद्ध बनाउनु प¥यो, पुर्खालाई दोष लगाउने हैन, पुर्खाले जे गरे राम्रो गरे ।” उहाँले पत्रकारिताको क्षेत्रले पनि यस कुरालाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पारदर्शिताको समय भएको भन्दै उहाँले प्रधानमन्त्रीसँगको सिधा कुरामा पनि आफूले गरेका काम कारबाही देखिनेगरी जनतालाई जानकारी दिने र आफूप्रतिको आलोचना सुन्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले थप्नुभयो, “हामीले जे काम गरे पनि देशलाई शिरमा, जनतालाई मनमा र मानवजातिको हित हुने गर्नुपर्छ, ठीक बाटोतिर समाज हिँडाउनेतिर पत्रकारिताले ध्यान दिनुपर्छ ।”
समानता तथा न्यायका मानवीय भावना सम्प्रेषण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अनलाइनमा घृणा, द्वेष फैलाउने समाचार आउने गरेको भन्दै प्रश्न गर्नु भयोे, “जातीय आधारमा गुण र दोष होइन, जाति भनेको गुण हो र ? दोष हो र ?”
“अनुचित ढङ्गले समाचार सम्प्रेषण गर्नुले नेपालको सामाजिक विविधताको यथार्थलाई बुझ्न अस्वीकार गर्छ, महत्वलाई बुझ्न अस्वीकार गर्छ र त्यसले नेपाललाई अन्धकारतिर धकेल्न पुग्छ, त्यतातिर ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
आफूले पनि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अनलाइनमा समाचार पढ्ने गरेको जानकारी दिँदै भन्नुभयो, “अनलाइन यति धेरै छन्, ११ बजेदेखि २ बजेसम्म अनलाइन पढ्दा पनि शीर्षक नै पढ्न भ्याइँदैन, दैनिक पत्रिका, टेलिभिजन, रेडियोका पत्रकारैपिच्छे अनलाइन हुने अवस्था आयो ।”
प्रधानमन्त्री ओलीले सङ्ख्याका हिसाबले अनलाइन बढेपनि आपसमा प्रतिस्पर्धात्मक क्षमता पर्याप्त नभएको चर्चा गर्नुभयो । पत्रकारिता मिसन, पेसागत, व्यावसायिक हुन्छ, अनलाइन खोल्नु मिसन हो कि ? खोलेर काम गर्नु मिसन हो ? प्रश्नको शैलीमा उहाँले थप्नुभयो ।
“पत्रकारिता समाजप्रति अत्यन्त जिम्मेवार विधा हो, त्यस जिम्मेवार विधाले गैरजिम्मेवार काम ग¥यो भने अस्त्रको दुरुपयोग हुन्छ, ज्ञान, क्षमता, समय र शक्तिको दुरुपयोग हुन्छ, त्यसलाई सच्याउन अरु धेरै समय लाग्छ”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले ठीक र सत्यको पक्षमा, जिम्मेवार र मर्यादित ढङ्गले सञ्चारमाध्यमले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “आठैप्रहरले शुभकामना खेर नजाने गरी काम गरोस् ।”
आठैप्रहर डटकम न्यूज पोर्टल प्रारम्भ
यसैबीच, आठैप्रहर डटकम न्यूज पोर्टल आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । सोको परीक्षणका रुपमा दुई महिनाअघिदेखि सुरु भएको थियो ।
पत्रकार सुवास देवकोटा सम्पादक तथा प्रकाशक भएको सो अनलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले अबको मूलधारको पत्रकारिता नै अनलाइन भएको र सरकारले जनतासम्म सहजरुपमा सूचनाको पहुँच पु-याउनका लागि इन्टरनेटको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार गोपाल गुरागार्इंले पछिल्लो समयमा अनलाइन पत्रकारिता निकै फस्टाउँदै गएको हुँदा फरक विषयवस्तु दिनसकेमा यसको भविष्य अझ राम्रो भएको बताउनुभयो ।
पत्रकार देवकोटाले पलपलमा समाचार दिने र फरक प्रस्तुति सो अनलाइनमा आगामी दिनमा देख्न सकिने जानकारी दिनुभयो । रासस