सहमतीय सरकार गठनको समयसीमा सकिँदै, दलहरुबीच सहमती बन्ने सम्भावना न्यून

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि गर्नुभएको आह्वानको समयसीमा आइतबार सकिँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो । उहाँले संविधानको धारा ३०५ बमोजिम बाधा अड्काऊ फुकाउ आदेश जारी गर्दै धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको हो । तर यसबीचमा दलहरुबीच सहमति हुन सकेको छैन ।
आइतबार दिनभरमा पनि दलीय सहमति कायम हुन नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सहमतीय सरकार गठनको सम्भावना न्यून भएकाले संसद्ले भोलिदेखि बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने छ । सभामुख ओनसरी घर्तीले भोलिका लागि संसद् बैठक आह्वान गरिसक्नुभएको छ ।