संसदीय सुनुवाई विशेष समितिबाट ११ जना न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले न्याय परिषद्ले सिफारिस गरेका ११ जनाको नाम अनुमोदन गरेको हो । समितिले सिफारिस गरिएका न्यायाधीशहरुको नाममा मर्यादाक्रम नमिलेको भन्दै परिषद्को ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ ।
समितिले ईश्वरप्रसाद खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्वरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको हो । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरेको थियो । समितिले प्रस्तावित न्यायाधीशको नाम अनुमोदन गरेपछि उहाँहरुलाई न्यायाधीश नियुक्तको बाटो खुलेको छ ।
समितिले अनुमोदन गरेपछि अब राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान छ । २० जना न्यायाधीश हुनुपर्ने सर्वोच्चमा अहिले ९ जनाले काम चलाइरहेका छन् ।