दृष्टिविहीनको पदयात्रा, सहयोग गर्नु नागरिक कर्तव्य


नेपाल नेत्रहीन सङ्घ र नेपाल अन्धाकल्याण सङ्घले ५१ औँ विश्व ‘सेतो छडी’ सुरक्षा दिवसका अवसरमा शान्ति पदयात्रा निकालेको छ । काठमाडौँको पुरानो बसपार्कबाट निकालिएको सो यात्रा भद्रकाली, सहिदढोका, नयाँसडक, रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो । अन्धाकल्याण सङ्घका अध्यक्ष कुमार थापाले विभिन्न किसिमका दुर्घटना तथा लापर्बाही, कुपोषण, गरिबी, चेतना र समयमै उपचारको अभावले दृष्टिविहीन हुने हुँदा समाजमा उनीहरूलाई स्थापित गर्नुपर्नेमा जोड दिँदै दृष्टिविहीनले सेतो छडी लिएर सडकमा हिँड्दा सर्वसाधारणले हेर्ने दृष्टिकोणमा सकारात्मक भई स्नेह र सहयोग गर्नुपर्ने औँल्याउनुभयो । नेत्रहीन सङ्घका अध्यक्ष रमेश पोखरेलले सडकमा अल्मलिरहेका दृष्टिविहीनलाई गन्तव्यसम्म पुग्न सबैले सहयोग गर्नुपर्ने भन्दै सडक तथा निर्माणस्थल घेरेर राख्नुपर्ने र सडकमा ध्वनियुक्त ट्राफिक सङ्केतको प्रयोग गर्नुपर्ने बताउनुभयो । सन् १९२१ मा बेलायती फोटोग्राफर जेम्स विगको सवारी दुर्घटनामा परी आँखाको ज्योति गुमेपछि हिँडडुल गर्न असजिलो भएपछि उनले आफ्नो छडीलाई सेतो छडीका रुपमा दर्ता गराएपछि सन् १९३० मा पियोरिया लायन्स क्लबका अध्यक्ष जर्ज ए बोनहामले सेतो छडीमा रातो धर्को थपे । नेपालभर करिब पाँचलाख दृष्टिविहीन रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]