खचाखच भीडबीच सकियो तीज धमाका, दोहोरीमा सिड्नीवासीलाई नचाए पशुपति शर्मा र मञ्जु पौडेलले

बीएमएस फिल्मसले आयोजना गरेको मार्टगेज एम्पायर तीज धमाका २०१६ सम्पन्न भएको छ । करिब ९ सय दर्शकका माझ प्रसिद्ध लोकदोहोरी गायक पशुपति शर्मा र मञ्जु पौडेलले करिब चार घण्टा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । दोहोरीमा उनीहरुलाई गायक नरेश रेग्मीले साथ दिएका थिए । सिड्नीमा आयोजना गरिएको तीज कार्यक्रममा नयाँ उचाई कायम गर्दै तीज धमाका २०१६ ले आफ्नो अलग्गै पहिचान कायम गरेको छ । खचाखच भरिएको मराना अडिटोरियममा तीजका भकामा महिलाहरु मस्त नाचेर आफ्नो सुखदुख साटिरहेका थिए । भुई तल्लामा मात्र नभएर बाल्कोनीमा समेत दर्शकहरु खचाखच थिए । पशुपति शर्मा र मञ्जु पौडेलको घोचपेचपूर्ण प्रस्तुतिसँगै सबै उमेर समूहका दर्शकहरु रमाएका थिए । श्रृया राईको उद्घोषणमा अघि बढेको कार्यक्रममा स्थानीय प्रतिभाहरु एन्जिला विकको डान्स, कुन्ति लिम्बु र कविता आचार्यले नृत्य प्रस्तुत गरेका थिए । यसपछि दोहोरी सुरु भयो जसमा अन्त्यसम्म नै दर्शकहरु रमाएर नाचिरहेका थिए । कार्यक्रमपछि एमएनटीभीसँग कुरा गर्दै आयोजक वीरेन्द्रदिप मल्लले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । “तीजको भाकामा पूर्णत मनोरञ्जनात्मक कार्यक्रम दिने हाम्रो प्रयास सफल भएको छ ।
दर्शकहरुको उपस्थितिले हामीलाई उत्साह थपेको छ”, मल्लको भनाई छ । गायकद्वयले अब मेलबर्न र क्यानबेरामा समेत आफ्नो प्रस्तुति दिँदैछन् ।
दोहोरीका केही तस्वीरहरु यहाँ प्रस्तुत गरेका छौं । कार्यक्रमको लाईभ भिडियो हाम्रो फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।