कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच समझदारी बनाउन कार्यदल गठन, सरकारमा भने मोर्चा सहभागी नहुने


Tin_Dal_Baithakनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच राजनीतिक समझदारी कायम गर्न कार्यदल गठन गर्ने सहमति भएको छ । सरकार गठनको तयारीमा रहेका कांग्रेस र माओवादीका शीर्ष नेताहरुले शनिबार मधेसी मोर्चाका नेताहरुसँग छलफल गरी राजनीतिक समझदारी बनाउन ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति गरेका हुन् । सिंहदरबारमा भएको बैठकले कार्यदलमा तीनै पक्षका तीन–तीन जना रहने सहमति भएको हो ।

बैठकमा कांग्रेस र माओवादीले मधेसी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर मोर्चाले आफूहरुका केही माग पूरा नभएसम्म सरकारका सहभागी हुन नसक्ने जवाफ दिएपछि समझदारी बनाउन भन्दै कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेता सहभागी थिए ।

यसैबीच नेपाली कांग्रेस र मधेसी मोर्चाले कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाएका छन् । कार्यक्रममा कांग्रेसका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी छन् । त्यसैगरी मधेसी मोर्चाका तर्फबाट कार्यदलमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देल रहेका छन् । माओवादी केन्द्रले भने कार्यदलमा पठाउने सदस्यको नाम टुंगो लगाउन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]