एमाले सरकारमा जाने सम्भावना कम : नेता नेपाल


काभ्रेपलाञ्चोकको दोलालघाटमा दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले शनिबारदेखि सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै उहाँले भन्नुभयो – “मैले तुरुन्तै एमाले सरकारमा जाने सम्भावना कम देखेको छु ।”
वरिष्ठ नेता नेपालले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो ।
उहाँले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नभए मुुलुकमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नुभयो । गाउँपालिकाको स्वरुप गलत भएको टिप्पणी गर्दै नेता नेपालले भन्नुभयो – “एउटा गाउँ सानो हुन्छ, नगरको कुनै पूर्वाधार छैन यस्तो अवस्थामा कसरी गाउँपालिका हुन्छ ?’’
अब बन्ने नयाँ सरकारले विगतको सरकारले गरेको सन्धि सम्झौता लागू गर्न आग्रह गर्दै उहाँले काठमाडौँ–निजगढ फास्ट ट्र्याकलाई नेपाल आफँैले निर्माण गर्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद विदुर सापकोटा, पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेती, नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइवा, नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेल, नेकपा (माओवादी केन्द्र)का हरि दुलाललगायतले एम्बुलेन्स सेवाबाट दुर्गम क्षेत्रका बासिन्दाले पनि यातायातको सेवा पाउने बताउनुभयो ।
रु २० लाख ७४ हजार ६०९ बजेट सङ्कलन गरेको क्लबले रु आठ लाख ६५ हजारमा सो एम्बुलेन्स खरिद गरेको थियो । कार्यक्रममा रु एक लाखभन्दा बढी आर्थिक सहयोग गर्नेहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस