माओवादीभित्र मन्त्री छान्न सकस, नयाँ मापदण्ड निर्धारण

नेकपा माओवादी केन्द्रले नयाँ सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गरेको छ । मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वाटर बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो । तर माओवादीले तय गरेको मापदण्ड भने सार्वजनिक गरेको छैन ।
माओवादी स्रोतले दएको जानकारीअनुसार संविधानअनुरुप समानुपातिक समावेशिता, नेतृत्व क्षमता, पार्टी संगठनमा भूमिका, क्षेत्रीय सन्तुलनलाई मिलाएर मन्त्री छान्ने निर्णय भको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी संकटका बेला सरकारमा जान लागेको भन्दै अनावश्यक महत्वाकांक्षा नपाल्न नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकले अघिल्लो सरकारले लिएका सकारात्मक कदमलाई समेत अघि बढाउने निर्णय लिएको छ । संविधान कार्यान्वयनमा उत्पन्न समस्या चिर्ने रोडम्याप तयार पार्ने, मधेसी जनजातिसँग वार्ता, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक ऐन संशोधन, भूकम्पपछिको पुननिर्माणलाई तीव्रता दिने ठोस कार्ययोजना तयार पार्नुपर्ने बैठकको निर्णय छ ।