संसदीय समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाई सकियो

व्यवस्थापिका संसदको सार्वजनिक सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई सकेको छ ।
समितिले लगातार दुई दिन लगाएर सर्वोच्च अदालतका प्रस्तावित ११ जना न्यायाधीशको सुनुवाइ सकेको हो । बुधबार ६ जना न्यायाधीशको सुनुवाई गरेको समितिले बिहीबार ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत र सपना प्रधान मल्लको सुनुवाइ गरेको हो ।
समितिले प्रस्तावित न्यायाधीशहरूलाई पालैपालो बैठकमा बोलाएर सुनुवाइ गरेको हो । सुनुवाइ सकिए पनि समितिले निर्णय भने गरेको छैन । समितिले निर्णय लिनका लागि साउन १५ बैठक बोलाएको छ । समितिले न्याय परिषदको सिफारिस अनुमोदन गरेपछि मात्र प्रस्तावित न्यायाधीशहरूको नियुक्तिको बाटो खुला हुन्छ । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले गत फागुन १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो ।