चैतमा चुनाव गराउने कांग्रेस–माओवादी गठबन्धनको तयारी, भावी सरकारको साझा कार्यक्रम बनाउन ६ सदस्यीय कार्यदल बनाइने


Prachanda_Deubaनेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आगामी चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्ने समझदारी गरेका छन् । दुई दलका शीर्ष नेताहरुको बुधबार सिंहदरबारमा बसेको बैठकले आगामी चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी छलफल अघि बढाउने सहमति गरेका छन् । उनीहरुले सरकार गठनलगत्तै नेकपा माओवादी र मधेसी दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेका छन् ।

सत्ता गठबन्धनको तयारीका क्रममा दुई दलले यस विषयमासमेत समझदारी गरिसकेको बताइएको छ ।

केपी ओली नेतृत्वको सरकारले केही समयअघि मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने गरी तीन वटै निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको थियो । स्थानीय निकायको पुनर्संरचना गरेर मंसिरमै निर्वाचन गर्न असम्भव देखिएको जनाउँदै कांग्रेस र माओवादीले चैतमा निर्वाचन उपयुक्त हुने बताउँदै आएका थिए । स्थानीय निकायको पुनुर्संरचना गर्न गठित आयोगलाई फागुन मसान्तसम्ममा रिपोर्ट बुझाउने समय दिइएको छ ।

दुई दलको बैठकले आयोगलाई ‘छिटोभन्दा छिटो’ प्रतिवेदन बुझाउन आग्रह गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार चैतमा स्थानीय निकायको निर्वाचन गरेपछि सत्ता हस्तान्तरण गर्ने छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संघीय र प्रदेश सभाको निर्वाचन गर्ने बताइएको छ ।

स्थानीय निकायको निर्वाचनअघि आन्दोलनरत मधेसी मोर्चासँग पनि समझदारी गर्ने प्रयास दुई दलको छ । मधेसी, आदिवासी जनजाति र थारूहरूले उठाएका मागलाई दुई भागमा वर्गीकरण गरी सम्बोधन गर्ने तयारी नयाँ गठबन्धन दलहरूको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, निधि, शेखर कोइराला र रामशरण महत सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवलगायत सहभागी थिए ।

यसैबीच माओवादी अध्यक्ष दाहालको नेतृत्वमा बन्ने सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा पनि दुई दलबीच छलफल भएको छ । बैठकले साझा कार्यक्रम बनाउन ६ सदस्यीय कार्यदल बनाउने निर्णय लिएको हो । कार्यदलमा रहने सदस्यहरूको नाम कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले तोक्ने समझदारी भएको छ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]