मच्छिन्द्रनाथको रथयात्रा जावलाखेल पु-याइयो

वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ जात्रा मंगलबार पुनः शुरु भएको छ ।
मच्छिन्द्रनाथको रथयात्रा शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मच्छिन्द्रनाथको रथ गत जेठ ६ मा लगनखेल पु¥याइएको थियो ।
रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।
यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।
यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ ।