बाढी र पहिरोमा परी एकै दिन २८ जनाको मृत्यु

अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परी मंगलबार २८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरी बाढी र पहिरोमा परी २४ जना बेपत्ता भएको जनाएको छ । त्यसैगरी १० जना घाइते भएका छन् ।
मन्त्रालयले प्युठानमा ६ जनाको ज्यान गएको जनाएको छ । गुल्मीमा ५, पाल्पामा ४, बागलुङमा ४, मकवानपुरमा ३, रुपन्देहीमा २ र काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाहीमा १–१ जनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
गृहका अनुसार तिनाउमा आएको बाढीका कारण झोलुंगे पुल बगाएको छ । मोरङको रंगेलीबाट उर्लाबारी जाने पक्की पुल बगेको छ । झापाको बिरीङखोलाको बाढीले डाँगीबारीको लुतसीबारीमा २ वटा घर बगाएको छ । त्यहाँ २५ घर परिवार प्रभावित भएको गृहले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण झापा मोरंग र सप्तरी लगायतका जिल्लाका वस्तीहरु डुवानमा परेको, नारायणी नदीमा पानीको सतह खतराको तहमा पुगेको उल्लेख गर्दैे चितवन र नवलपरासी जिल्लाका तल्लो तटिय क्षेत्रका बासिन्दालाई सर्तक गराइएको जनाइएको छ ।
घटनाको जानकारी हुनासाथ सुरक्षा किनयका नजिनजकको इकाइ र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली परिचालन गरी उद्धार र खोजको काम अगाडि बढाइएको, मृत्यु भएकाहरुको शव कानुनी प्रकृया पुरा गरी आफन्तलाई बुझाउने राइते भएकालाई उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागी लगिएको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच बाढी र पहिरोले प्युठानमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी अझै ४ जना बेपत्ता छन् । पुजा र अर्खाका गरी चार जनाको शव निकालिएको जिल्ला प्रहरीले जनाएको छ । जिल्लाभर बाढी र पहिरोका कारण दुई सय परिवार विस्थापीत भएका छन् ।
झिमरुक खोलामा अहिलेसम्म पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गुल्मीका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोले बगाएर ५ जनाको मृत्यु भएको छ । ५ घर सहित ३ झोलुङ्गे पुल बाढीले बगाएको छ ।
त्यस्तै बिशुखर्क–९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपालबहादुर रानाको घर बगाउँदा उनका ९ वर्षीय छोरा सुजन राना र ७ वर्षीया छोरी सिमाना रानाको मृत्यु भएको छ ।
दुई दिनदेखि परेको अविरल बर्षाले बागलुङका छुट्टाछुट्टै स्थानमा मंगलबार घर भत्किदाँ च्यापिएर बालिका सहित तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा राजकुट ७ की ८ बर्षीया बालिका तुजी तामाङ र उनकी दिदी पर्ने २२ बर्षीया पिकी लोप्चन र दर्लिङ ३ की १६ बर्षीया यमुना बुढामगरको घर भित्रै पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यमुनासँगै पुरिएका उनकी ३९ बर्षीया आमा देवी र ८ बर्षीय भाई राजु वेपत्ता छन् ।
बारामा चुरेको फेदस्थित रतनपुरीको भक्तलाल खोलामा आएको बाढीले बगाएर सोमवार साँझ एक वृद्धको मृत्यु भएको छ ।
निजगढ १२ रामथलीका ५५ वर्षीय चक्र भनिने मानबहादुर बलको मृत्यु भएको हो । खोला तर्दै गर्दा एक्कासी आएको बाढीले उनलाई बगाएर चार किमी टाढा बुङजोरमा पुरÞ्याएको थियो ।
बाँकेको होलिया गाविसको चौखेरीमा राप्तीको भंगालोले अलपत्र परेका स्थानीयलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको छ । डेढ सयको उद्धार भएको छ भने अझै सय उद्धारको पर्खाइमा जना छन् ।
रुपन्देहीको कञ्चन नदीमा आएको बाढीले एकै घरका २ जनालाई बगाएको छ ।
सालझण्डी गाविस १ फुलबारीका ६० वर्षे छवीलाल गाह र उनकी पत्नी ५५ बर्षे हुमीकला गाहलाई बगाएको इप्रका सालझण्डीले जनाएको छ । बाख्रा चराउन गएका उनीहरुलाई बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुवैजनाको शब निकालेको छ । बाढीले २ घरमा क्षती पुगेको छ ।
यसैगरी सप्तरीमा बाढीमा बगेर एकजनाको मृत्यु भएको छ । कोईलाडी बरसाईन गाबिस स्थित जिता नदी तर्ने क्रममा बाढीले बगाएर विराटनगर जतुवाका २३ वर्षीय सुदिपकुमार यादबको मृत्यु भएको हो ।