राष्ट्रपतिबाट सहमतीय सरकार गठन गर्न आह्वान, सात दिनको समय सीमा


Paramarsha

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिमा नयाँ प्रधानमन्त्री चयनका लागि दलहरूलाई आहवान गर्नुभएको छ । संविधानको धारा २९८ अन्तर्गतकै प्रावधानमा रही राष्ट्रपतिले ७ दिनभित्र राजनीतिक सहमति जुटाई प्रधानमन्त्री निर्वाचन सम्पन्न गर्न सोमबार आह्वान  गर्नुभएको हो ।

संविधानको धारा २९८ (२) मा सहमतिका आधारमा उक्त अवधिभित्र प्रधानमन्त्री चयन र मन्त्रिपरिषद् गठनको व्यवस्था छ । उक्त धारामा संविधान जारी भएपछिको पहिलो अधिवेशनको सन्दर्भ उल्लेख भएको र त्यसले प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री कसरी बनाउने भन्नेमा संवैधानिक अन्योल थियो । त्यसैलाई हटाई प्रधानमन्त्री निर्वाचन सहज बनाउन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट बाधा अडकाउ फुकाउ आदेश जारी भएको थियो ।
प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि संक्रमणकालीन धारा २९८ अन्तर्गतका प्रावधानभित्रै रहेर प्रधानमन्त्री चयन गर्न मिल्ने गरी अघिल्लो दिन मन्त्रिपरिषद्ले बाधा अडकाउ फुकाउ आदेशको सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले दलहरूलाई गरेको आहवान उद्धृत गर्दै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘संविधानको धारा २९८ उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्नका लागि व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आहवान गर्नुभएको छ ।’

उक्त धाराको उपधारा २ मा सहमति र ३ मा बहुमतका आधारमा प्रधानमन्त्री चुनिने व्यवस्था छ । त्यसैमा रहेको संवैधानिक अन्योल फुकाउन राष्ट्रपतिले धारा ३०५ अनुसार आदेश जारी गर्नुभएको थियो ।

‘अर्को प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गर्न बाधा अडकाउ परेकाले,’ आदेशमा भनिएको छ, ‘नेपालको संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अडकाउ फुकाउने आदेश जारी भएको छ ।’

उपधारा २ मा ७ दिनभित्र राजनीतिक सहमतिमा प्रधानमन्त्री चयन गरी निजकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ । उपधारा ३ मा भने ‘सहमति कायम हुन नसकेमा संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वा्चित हुने’ उल्लेख छ ।

सोहीअनुसार राष्ट्रपति भण्डारीले पहिलो विकल्पका लागि आहवान गर्नुभएको हो । त्यसरी आहवान गर्नुअघि उनले शीतलनिवासमै प्रमुख ३ दलका शीर्ष नेताहरू एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त रूपमा भेटी सल्लाह दिनुभएको थियो । त्यस क्रममा नेताहरूले राष्ट्रपतिसमक्ष सहमतिमै सरकार बनाउनका लागि आफूहरूले प्रयास गर्ने धारणा राखेका थिए ।

उक्त म्यादभित्र सहमतिमा सरकार बन्न नसके उपधारा ३ अनुसार राष्ट्रपतिको आहवानमा प्रधानमन्त्री छान्न संसद्मा बहुमतीय प्रक्रिया सुरु हुनेछ । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले समर्थन फिर्ता लिई कांग्रेससँग गठबन्धन गरी अविश्वास प्रस्ताव राखेपछि ओलीले आइतबार राजीनामा दिएका हुन् । नयाँ गठबन्धनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रस्ताव गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]