विप्लवको बन्दले देशभरको जनजीवन सामान्य प्रभावित, काठमाडौंमा ट्याक्सी तोडफोड

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आयोजना गरेको बन्दका कारण सोमबार काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन सामान्य प्रभावित भएको छ ।
बन्दकर्ताले काठमाडौंको मीनभवन र गोगबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पु-याएका छन् । मीनभवनमा बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
त्यस्तै बन्दकर्ताले गोगबुमा बा १ ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भएका थिए ।
सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।
जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।