प्रधानमन्त्री ओलीबाट राजीनामा घोषणा, पद छाड्नुपरेको कारणसहितको संसद्लाई स्पष्ट जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसद्मा पेश गरेको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । राष्ट्रपतिसमक्ष राजीनामा दिएपछि संसद् भवनमा पुग्नुभएका ओलीले राजीनामा बारे संसद्मै जानकारी दिनुभएको हो ।
अविश्वासको प्रस्तावमा आफूले समर्थन प्राप्त गर्न नसक्ने भएपछि राजीनामा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस गरिमामय सदनमा आउनुभन्दा अगाडि मैले सम्माननीय राष्ट्रपतिज्यूसँग भेट गरेको छु । बजेट आश्रित विधेयकहरू व्यवस्थापिका–संसदबाट अस्वीकृत भइसकेपछि मैले बुझेको छु– कारण जे सुकै होस्, मलाई प्रधानमन्त्रीमा निर्वा्चित गर्ने व्यवस्थापिका–संसदका बहुमत सदस्यहरूको ममाथि समर्थन रहेन । मैले माथि नै भनिसकेको छु– प्रधानमन्त्रीको पद मेरो लक्ष्य र एकमात्र गन्तव्य होइन । तसर्थ फेरिएको परिस्थितिमा यस सदनलाई नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागिमार्ग खुल्ला गर्ने निर्णय गर्दै राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेश गरिसकेको जानकारी गराउँछु ।’
ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, राप्रपासहितका साना पार्टीको समर्थनमा प्रधानमन्त्री हुनुभएको थियो । प्रधानमन्त्री निर्वाचनमा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालालाई हराउँदै ३ सय ३८ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।