प्रधानमन्त्रीको मानसिक स्वास्थ्य ठीक नभएको कांग्रेस सांसद सिंहको दाबी, एमालेको आपत्ति, सिंहको भनाइ संसद रेकर्डबाट हटाउन सभामुखको निर्देशन

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको दाबी गर्नुभएको छ । संसद्मा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले प्रधानमन्त्री ओलीको मानसिक सन्तुलन ठीक नभएको बताउनुभएको हो ।
उहाँले ‘ग्यास पाइप ल्याउने, मेट्रो चलाउने, पानी जहाज चलाउने हावादारी कुरा प्रधानमन्त्रीले गर्नुभएको छ,’ उहाँले भन्नुभएको थियो, ‘उहाँलाई औषधिको प्रभावका कारणले मानसिक अवस्था ठीक छैन, पार्लियामेन्ट त्यसको शिकार हुन सक्दैन ।’
कांग्रेस सांसद सिंहले ‘प्रधानमन्त्रीको मानसिक अवस्था’बाट प्रश्न उठाएपछि एमालेका सांसदहरुले नियमापत्ति गरेका थिए । एमाले सांसदहरु कृष्णभक्त पोखरेल र पुरुषोत्तम पौडेलले नियमापत्ति गरेपछि एमाले सांसदहरुले उठेर होहल्ला गरेका थिए । लगत्तै एमाले सांसद पोखरेलले प्रधानमन्त्री सबैको प्रधानमन्त्री भएको उल्लेख गर्दै मानसिक अवस्थाबारे चुनौति दिने अधिकार कसैलाई नभएको भन्दै अशिष्ट शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।
पोखरेलले आफ्नो भनाइ सकेलगत्तै अमरेशको जवाफ थियो, ‘डाक्टरले नै औषधिको इफेक्ट छ भनेका छन् ।’
एमाले सांसदहरुले अमरेशको भनाइमा आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।