सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि संसदमा छलफल जारी

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि संसद्मा शनिबार पनि छलफल जारी रह्यो । संसद् भवन नयाँबानेश्वरमा बसेको संसद बैठकमा सांसदहरुले अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखेका छन् । सत्तारुढ दलका सांसदहरुले ओली नेतृत्वको सरकारको बचाउ गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले अविश्वासको प्रस्तावको औचित्य पुष्टि गर्ने प्रयास गरेका छ ।
बैठकमा कांग्रेसका सांसद रमेश लेखकले सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै यसलाई हटाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले मुलुकमा कानुनी शासन नभएको, भ्रष्टाचार बढेको, सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेले सबै निकायमा राजनीतिकरण गरेको आरोप लगाउनुभयो ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको बचाउ गर्दै जनताको पक्षमा धेरै काम गरेको दाबी गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले नै सबै दललाई सहभागी गराएर राष्ट्रिय सहमतिको सरकार गठनको पहल गरेको बताउनुभयो । यसअघि भएका भद्र सहमति कार्यान्वयन नगरेर नेपाली कांग्रेसले सहमतिलाई बिथोलेको आरोप लगाउनुभयो । जनताको पक्षमा काम गरिरहेको सरकारलाई हटाउन नहुने उहाँको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले विगतका सहमति कार्यान्वयन नभएकाले आफूहरुले सरकार छाडेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको आरोपसमेत लगाउनुभयो ।
मधेसी मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लले ओली नेतृत्वको सरकारले आफूहरुका मागको सुनुवाई नगरेको र वेवास्ता मात्रा गरिरहेको बताउनुभयो । उहाँले ओली सरकार ढाल्न आफूहरुले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो । आगामी सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आशावादी रहेको उहाँको भनाइ थियो ।
बैठकमा सांसदहरुले अविश्वासको प्रस्तावका विषयमा बोल्ने क्रम आइतबार पनि जारी रहने छ । सांसदहरुले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रम सकिएपछि प्रधानमन्त्री ओलीले आइतबार नै जवाफ दिने कार्यक्रम छ । त्यसपछि कांग्रेस र माओवादी केन्द्रले मिलेर ल्याएको अविश्वासको प्रस्तावमाथि मतदान हुने छ ।