सरकारविरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन प्रमुख तीन शक्ति सहमत, मधेसी मोर्चाले पनि कांग्रेस र माओवादीलाई सघाउने

प्रमुख तीन राजनीतिक शक्तिले संसद्को बैठकमा सरकारका विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र मधेस केन्द्रित दलका शीर्ष नेताहरुको शुक्रबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई एकजुट भएर पारित गर्ने सर्वसम्मतले निर्णय गरेको हो ।
यसैगरी बैठकले नयाँ सरकारको निर्वाचनमा पनि मधेस केन्द्रित दलले सघाउने र त्यसबीचमा मधेस मुद्दा समाधान गर्न समझदारी गर्ने निर्णय गरेको छ ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल, नेताहरु बिमलेन्द्र निधि र चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा थिए । त्यस्तै मधेशकेन्द्रित दलका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, हृदयेश त्रिपाठी, राजकिशोर यादवलगायत सहभागी थिए ।