मन्त्रिपरिषद्बाट आमसञ्चार नीति पारित, विदेशी टेलिभिजनमा क्लिन फिड नीति लागू हुने

सरकारले विदेशी टेलिभिजनमा क्लिन फिड नीति लागू गर्ने प्रस्तावसहितको आमसञ्चार नीति पारित गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आमसञ्चार नीति पारित गरेको हो । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले स्वदेशी टीभी र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न, विदेशी भाषाबाट नेपाल भाषा, नेपालबाट विदेशीरहेको मुद्रा रोक्न र सँस्कृतिमा भएको नकारात्मक प्रभाव रोक्न र स्वदेशी विज्ञापन बजार बृद्धि गर्न यो निर्णय गरिएको बताउनुभयो ।
बैठकले आम सञ्चार नीति स्वीकृत गरेको छ । उच्चस्तरीय समितिले दुई दिन अघि मात्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो ।
आम सञ्चार नीतिमा नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लीन फिड) नीति उल्लेख छ । साथै प्रसारण अनुमति लिइसकेकाको हकमा अबधि तोकेर विज्ञापनरहित प्रसारण गर्न लगाउने उल्लेख छ ।
नयाँ आम सञ्चार नीतिअनुसार सरकारले अब त्यस्ता विदेशी च्यानलबाट नेपालमा प्रसारण हुने विज्ञापनलाई अब नियमन गर्नेछ । अब त्यस्ता विज्ञापन सामाग्रीहरु नेपालमा कर तिरेर वा कानूनी प्रक्रिया पूरा गरेरमात्रै प्रसारण गर्न पाइनेछ । जसबाट नेपाल सरकार र नेपालका विज्ञापन एजेन्सीहरुलाई आर्थिक लाभ पुग्नेछ ।
यसका साथै नेपालको हित प्रतिकूल हुने सामाग्रीहरु पनि नियमनभित्र पर्नेछन् ।