सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री ओली किन भए आक्रोसित ?

संसद्मा कुन विषयमा छलफल अघि बढाउने भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरु विभाजित भएपछि सभामुख ओनसरी घर्तीले बोलाउनुभएको भएको बैठक निष्कर्षविहीन भएको छ ।
दलीय सहमति कायम गरेर संसद् सुचारु गराउने प्रयासस्वरुप सभामुखले बोलाउनुभएको भएको बैठकमा नेताहरुले आ–आफ्नै अडान राखेपछि निष्कर्षविहीन भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत पुग्दैमा जे पनि गर्न नपाउने भन्दै सभामुख ओनसरी घर्तीप्रति असन्तुष्टि राख्नुभएको थियो । बजेटसम्बन्धी विधेयक रोकेर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा अगाडि बढाएपछि असन्तुष्ट प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखले डाकेको बैठकमा विधि नमिच्न आग्रह गर्नुभयो ।
‘संसद विधिले चलाउने कि बहुमतले ?,’ भन्दै प्रधानमन्त्री ओलीले ‘बहुमतले चलाउने हो भने जे गरे पनि भइहाल्यो नि, किन सोध्दै हिंड्नुप¥यो ?’ भन्दै प्रश्न गर्नुभयो ।
प्रधानमन्त्रीले आफू संसदीय मूल्य मान्यताविपरीत नभएको भन्दै विगतका अभ्यासअनुसार कारबाही अगाडि बढाउन सभामुखलाई आग्रह गर्नुभयो ।
सहमति हुन नसकेपछि बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक तीन घण्ठाका लागि स्थगित गरिएको छ ।