एशियाडमा एकमात्र पदक दिलाउने खेलाडीलाई १० लाख दिइने


युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले खेलकुद क्षेत्रमा देखिएको विवाद अन्त्य गरी सुधारको योजना ल्याउने तयारी भइरहेको बताउनुभएको छ । तामाङ समाज युएइले आयोजना गरेको ‘राहत वितरण, शैक्षिक सहयोग तथा सम्मान’ कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुद नीतिमै भएका कमजोरीलाई सच्याएर नयाँ संरचना तयार गरी खेलकुदमा देखिएको सम्पूर्ण विवाद अन्त्य गर्ने दाबी गनुभयो । मन्त्री पौडेलले १७ औँ दक्षिण एसियाली खेलकुदमा एसियाडमा करातेतर्फ कास्य पदक जितेर नेपालको नाम राख्न सफल कराते खेलाडी विमला तामाङलाई सरकारले राष्ट्रिय सम्मानसहित रु १० लाख प्रदान गर्ने बताउनुभयो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङले विदेशमा आफ्नो पसिना बगाएर दुःखले कमाएको पैसा नेपालका राम्रो कामका लागि योगदान गर्नु प्रशंसनीय भएको भन्दै एसियाड खेलका कराते खेलाडी बिमलाले कास्य पदक जितेर भएपनि नेपालको नाम राख्न सफल भएको बताउनुभयो । कार्यक्रममा सभासदहरु अग्नि सापकोटा, बहादुरसिंह तामाङ, पशुराम तामाङ र मोहनबहादुर बस्नेतले खेलकुद क्षेत्रभित्र देखिएका सम्पूर्ण विवाद अन्त्य गरी खेल क्षेत्र र खेलाडीको विकासका लागि सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कराते खेलाडी बिमला तामाङले आफूले देशका लागि एउटा पदकसम्म दिलाउन पाएकामा खुशी भएको अनुभव सुनाउनुभयो ।समाजका संस्थापक अध्यक्ष छत्र लामाले विदेशमा बसेर काम गर्ने नेपालीले राष्ट्रको विकास, प्रगति र उन्नति चाहेको हुनाले शिक्षा, खेलकुद, विपतमा परेका नेपालीलाई हरेक वर्ष सहयोग गर्ने गरेको बताउनुभयो । कार्यक्रममा समाजले एसियाड खेलमा करातेतर्फबाट नेपालका लागि एकमात्र कास्य पदक जित्न सफल खेलाडी तामाङलाई रु ५१ हजार १११ प्रदान गरेको छ । मन्त्री पौडेलले तामाङलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । त्यस्तै समाजले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितलाई रु दुई लाख ११ हजार १११ सिन्धुपाल्चोकका सभासद् अग्नि सापकोटालाई चेक हस्तान्तरण गरेको छ । साथै सो समाजले सिन्धुपाल्चोककै दुर्गम गाविस गोच्छे–३ मा रहेको घ्युलदेवी निम्न माध्यामिक विद्यालयलाई रु एक लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]