आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा र्याली


माघ १५, खोटाङ । संघीय संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्‍याली निकालिएको छ।

वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाहरूले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण र्‍याली निकालेको हो।

दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै भवनगैरासम्म र्‍याली निकालिएको थियो। देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशील बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको माग गर्दै र्‍याली निकालिएको र्‍यालीको नेतृत्व गरेका पारस बिराटले बताए।

‘नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक जल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्वावलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,’ उनले भने, ‘समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवापंक्तिको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ।’

स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो। कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो।

यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एव‌ उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन्।

शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष ज्ञापनपत्र पठाउँदै उनीहरुले देशलाई बस्नलायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]