भागबण्डा टुंग्याएर गण्डकीमा थप तीन मन्त्रीले लिए सपथ

माघ ११, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन्।
मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन्। सुन्दास सरकारका प्रवक्ता समेत हुन्। एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन्।
माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन्। उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।