अष्ट्रेलिकाका ४ राज्यका सबै शाखा बन्द गर्दै एक बैंक, १२० जना कर्मचारी प्रभावित हुने


असोज ५, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको बैंकवेस्टले आफ्ना बाँकी पूर्वी तटीय (इस्ट कोस्ट) शाखाहरू बन्द गर्ने भएको छ। त्यस्तै, बैंकवेस्टले क्षेत्रीय पश्चिमी अष्ट्रेलियामा धेरै ग्राहकहरू अनलाइन हुँदा व्यापारिक घण्टा समेत घटाउने भएको छ।

आगामी अक्टोबरको अन्त्यदेखि भिक्टोरिया र न्यु साउथ वेल्समा पाँच-पाँच वटा, ब्रिसबेन (क्विन्सल्याण्ड)मा तीन वटा र एडिलेड (साउथ अष्ट्रेलिया) मा एउटा गरि १४ वटा शाखा बन्द हुने भएका छन्।

क्षेत्रीय पश्चिमी अष्ट्रेलियामा थप २९ शाखाहरू प्रति हप्ता दुई देखि चार दिन मात्र व्यापार समयमा परिवर्तन हुने कमनवेल्थ बैंकको सहायक कम्पनीले मंगलबार पुष्टि गरेको छ।

यस कदमले लगभग १२० कर्मचारीहरूलाई असर गर्ने अपेक्षा गरिएको छ। उनीहरूलाई पुन: नियुक्ति अवसरहरू प्रस्ताव गरिने जानकारी दिइएको छ।

कार्यकारी महाप्रबन्धक जेसन चानले पूर्वी तटीय शाखाहरूले प्रति दिन लगभग २५ कारोबार मात्रै गरेको जानकारी दिए। जुन पाँच वर्षमा ६४ प्रतिशतले घटेको छ। सोही अवधिमा डिजिटल एपको प्रयोगमा उल्लेख्य वृद्धि भएको उनले बताए।

कार्यकारी महाप्रबन्धक चानले डिजिटल बैंकिङमार्फत २४ घण्टा सातै दिन सेवा दिने भएका कारण शाखाहरू बन्द गर्ने निर्णयमा पुगेको बताएका छन्। उनले बैंकका शाखा बन्द गरेता पनि सबै सेवाहरू हुलाकमार्फत पनि गर्न सकिने उनले बताएका छन्।

फाइनान्स सेक्टर युनियन राष्ट्रिय सेक्रेटरी जुलिया एङ्ग्रिसानोले बैंकवेस्टले ग्राहक र समुदायलाई त्यागेको आरोप लगाइन्।

‘मुख्य बैंकहरू नाफामा यति धेरै अल्छी भएका छन् कि उनीहरूले वित्तीय सेवाहरू प्रदान गर्ने समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई नजरअन्दाज गरिरहेका छन्।’ उनले भनिन्।

सबै अष्ट्रेलियालीहरू स्थानीय शाखामा जान सक्षम हुनुपर्ने भन्दै युनियनले बैंक बन्दको प्रभावको बारेमा संघीय छानबिनका लागि अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]