नेपाल फेस्टिभलले देशको माटोसँग जोड्दछ : केशव कँडेल 


भदौ १५, मेलबर्न अष्ट्रेलिया । केशव कँडेल, सामाजिक संस्थामा निरन्तर पदीय जिम्मेवारी सम्हाल्नु मात्र होइन, पदीय जिम्मेवारीबाट टाढा रहँदा पनि समुदायका निम्ति क्रियाशील हुनुहुन्छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व अध्यक्ष कँडेल मेलबर्नमा स्थापित व्यवसायी समेत हुनुहुन्छ। नेपाल फेस्टिवल मेलबर्नको सुरुवातीदेखि नै सक्रिय केशव कँडेल २०१६ र २०१८ मा आयोजित नेपाल फेस्टिभल मेलबर्नको संयोजक रहनुभएको थियो।  त्यतिबेला एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा एससीसी मेलबर्नको राज्य संयोजकको पदीय जिम्मेवारी निभाउँदै नेपाल फेस्टिभल मेलर्बन आयोजना गर्नुभएका उहाँ त्यसअघि २०१४ मा एससीसी मेलबर्नको सचिव पदमा रहँदै नेपाल फेस्टिभल मेलबर्न आयोजनामा अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो । नेपाल फेस्टिवल मेलर्बन २०२२ को नजिकिँदै गर्दा हामीले उहाँसँग नेपाल फेस्टिवल विशेष  कुराकानी गरेका छौँ:

नेपाल फेस्टिभल मेलबर्न २०२२ को पूर्व तयारी कस्तो लागिरहेको छ ?

नेपाल फेस्टिभल मेलबर्नको कुरा गर्दा २०१४ मा म एससीसी भिक्टोरियाको सचिव थिएँ, त्यतिबेला म अग्रपंक्तिमा रहेर काम गरेको थिएँ। त्यसपछि २०१६ र २०१८ मा आयोजना हुँदा म संयोजक रहेर काम गरेको थिएँ।  र, अहिले २०२२ मा सल्लाहकारको रूपमा छु । नेपाल फेस्टिभललाई सफल बनाउनका लागि नेपाली समुदाय जसरी सक्रिय हुन्छ, प्रशंसनीय छ। यो पटक नेपाली समुदायको व्यापक सक्रियता पाएको छु। आयोजक टिमका तर्फबाट पनि साथीहरूले सबैसँग हातेमालो गर्दै विभिन्न समिति–उपसमितिहरू निर्माण गरिरहनुभएको छ।  र, ती समिति  मार्फत सबैले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। व्यावसायिक संस्थाहरूले त्यसैगरी हातेमालो गर्नुभएको पाएको छु। यो सबै हेर्दा मेलबर्नको नेपाली समुदायको साँच्चै ठूलो पर्व आइरहेको छ भन्ने भान भइरहेको छ। 

नेपाल फेस्टिभलको मूख्य विशेषता के हो ?

आफूले कर्मभूमि बनाएको ठाउँमा मातृभूमिको झण्डा फहराएको देख्न पाउनुभन्दा ठूलो के हुन्छ होला र! फेडेरेसन स्क्वाएरलाई मेलबर्नको मुटु मानिन्छ, त्यस्तो ठाउँमा नेपालको झण्डा फहराउँछ, त्यो दिन। यहाँ हुर्किरहेका हाम्रो नेपाली पुस्तालाई हामीले नेपालको बारेमा पढाइरहेका हुन्छौँ, चित्रमा देखाइरहेका हुन्छौँ तर त्यो दिन उनीहरूले त्यहाँ प्रत्यक्ष रूपमा नेपालको झण्डा फहराएको देख्छन्, नेपालको मौलिक भेषभुषा, नेपाली खाना, नेपालको बाजा, कला संस्कृतिलाई प्रत्यक्ष बुझ्ने अवसर पाउँछन्। अझ राम्रो कुरा त, उनीहरु त्यसमा प्रत्यक्ष संलग्न भइरहेका हुन्छन् र सँगै अन्य समुदायका व्यक्ति तथा स्थानीयहरूले नेपालको बारेमा चासो राखेको, नेपाली कला–संस्कृतिको सम्मान गरिरहेको देख्छन्। यसले उनीहरुलाई नेपालसँग भावनात्मक रुपले जोड्छ। त्यसैगरी, यहाँको बहुसांस्कृतिक समुदायले पनि नेपालका बारेमा जान्ने, बुझ्ने मौका पाउँछ । र, यो सबैकुरा नेपाली पहिचान अनि नेपालको कला–संस्कृति, भाषा र खानाको मौलिकता सँग जोडिन्छ। 

नेपाल फेस्टिभल मेलबर्न आयोजना गर्दाका आफ्ना केही रोचक किस्साबारे बताइदिनुहोस् न ?

सुन्दा अचम्म पनि लाग्छ, नेपाल फेस्टिभल मेलबर्नको सांस्कृतिक परेडमा म अझैसम्म सहभागी भएको छैन। यद्यपि सांस्कृतिक परेडको सुरुवात म आयोजक टिममा रहेर काम गर्दा, २०१४ को नेपाल फेस्टिवल मेलबर्नमा गरेका थियौँ। तर सधै के हुने भने, सबै सांस्कृतिक परेडमा जाने भएपछि स्टेजतर्फ ख्याल राख्न त कोही हुनुपर्‍यो, म स्टेजतर्फ रहेँ। आशा गरौँ, यसपटक सहभागी हुने अवसर जुट्नेछ । सांस्कृतिक परेडको रुट अब ठूलो पनि भएको छ।  

नेपाल फेस्टिभल मेलबर्नको अविस्मरणीय क्षण ?

व्यवस्थापनमा रहनुपर्ने हुनाले मैले कहिल्यै पनि कलाकारहरुले दिने प्रस्तुति प्रत्यक्ष हेर्न पाउँदिनथें, सधै रेकर्डेड नै हेर्ने हो। तर धरहरा सम्बन्धी प्रस्तुति चाहिँ मैले प्रत्यक्ष रूपमा हेर्न पाएको थिएँ र त्यो प्रस्तुति हेर्दै गर्दा म यति भावुक भएको थिएँ नि, मेरो आँखाबाट बररर आँसु झरिरहेको थियो । साथीहरुलाई मलाई टिस्यु दिएकोदियै गर्नुपरेको थियो। र, अघि हजुरले सोध्नुभएको नेपाल फेस्टिभलको विशेषता यही हो। हामी भूगोलले टाढा रहेता पनि नेपाल फेस्टिभलले हामीलाई हाम्रो माटोसँग जोड्छ। 

नेपाल फेस्टिभल सफल बनाउनका लागि आवश्यक तत्त्व के हुन् ?

नेपाल फेस्टिभलको सबैभन्दा बलियो खम्बा भनेका स्वयंसेवक हुन् । नेपाल फेस्टिभललाई मैले स्वयंसेवकको योगदानको पर्वको रूपमा लिन्छु।  नेपाल फेस्टिभलका लागि स्वयंसेवकहरूले काम गर्दै गर्दा हामीलाई एकता, सद्भाव र समुदायप्रतिको दायित्वको बोध गराउँछ। त्यति ठूलो कार्यक्रमको सफलताको पछाडि स्वयंसेवीहरुको हात हुन्छ। र, सहभागीहरू माझ हाम्रो समुदायसम्बन्धी, जनचेतना सम्बन्धी, हाम्रो देश सम्बन्धी बुझाउनका लागि कथा सहितको सांस्कृतिक प्रस्तुति दिँदा प्रभावकारी हुन्छ भन्ने लाग्छ। किनकि सांस्कृतिक प्रस्तुतिमा सबैजसोको आकर्षण हुन्छ र स्टेजबाट ती प्रस्तुति मार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी हुन्छ। सँगै, नेपाली लोक संस्कृति झल्किने प्रस्तुतिलाई प्राथमिकतामा राख्नुपर्छ। 

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?

प्रत्येक दुई वर्षमा हुँदै आएको नेपाल फेस्टिभल कोभिडका कारण २०२० मा हुन सकेन। त्यसैले चार वर्षको अन्तरालपछि यो भव्य महोत्सव हुँदैछ। हरेक पटकको नेपाल फेस्टिभल मेलबर्नमा सहभागी संख्या बढ्दै आएको छ।  चार वर्षको अन्तराल पछि आयोजना हुँदै गरेको, नेपाली समुदाय अझ बृहत बनेको र कोभिड पछिको सबैबन्दा भव्य कार्यक्रम भएकोले यस वर्ष सहभागिता व्यापक हुनेछ भन्नेमा म विश्वस्त छु। यो महोत्सव संस्थाको मात्र नभएर हामी सबैको हो। सेप्टेम्बर १० मा फेडेरेसन स्क्वाएर जाऔं, सबै सहभागी बनौँ, नेपाल फेस्टिभल मेलबर्नको उद्देश्यलाई सफल पारौँ। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]