अष्ट्रेलियामा रेलको ठक्करबाट गम्भीर घाइते व्यक्तिको पहिचान गर्न समस्या


साउन २५, मेलबर्न अष्ट्रेलिया । केही हप्ता अघि रेलले ठक्कर दिएको व्यक्तिलाई पहिचान गर्न नसकेपछि अष्ट्रेलियाको प्रहरी समस्यामा पारेको छ। प्रहरी अस्पतालमा गम्भीर अवस्थामा उपचाररत व्यक्तिलाई पहिचान गर्न मद्दतको लागि आह्वान गरिरहेको छ।

जुलाई ७ तारिखमा साँझ ६ः ३० बजे ब्रन्सविकको रोयल पार्क र ज्वेल रेलवे स्टेशनको बिचमा रेलले ठक्कर दिँदा एक व्यक्ति गम्भीर घाइते भएका थिए। अहिलेसम्म उनका आफन्त प्रहरीको सम्पर्कमा आएका छैनन्।

करिब ६५ देखि ७५ वर्ष उमेर समूहका व्यक्तिलाई टाउकोमा गम्भीर चोट लागेको अवस्थामा अस्पताल लगिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीले बृहत् सोधपुछ गर्दा पनि उनको परिचय खुलाउन सकेको छैन। घटनाको समयमा उनीसँग कुनै फोन, वालेट वा परिचय पत्र नभएको बताइएको छ।

ती व्यक्ति विदेशबाट आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। कसैले उनलाई चिन्न सक्छ भन्ने आशामा प्रहरीले अनुहारको समग्र तस्बीर सार्वजनिक गरेको छ।

घटनाको समयमा ती व्यक्तिले के लगाएका थिए भन्ने यकिन नभए पनि उनले सेतो जुत्ता, कालो मोजा र कालो बेल्ट लगाएको पाइएको छ। प्रहरीले ती व्यक्तिलाई कसैले पहिचान गर्न सक्ने भए सम्पर्कमा आउन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]