नेपाल फेस्टिभललाई एक दिनबाट तीनदिन गर्ने तर्फ ध्यान दिनुपर्छ : ऋषि कँडेल


साउन २३, मेलबर्न अष्ट्रेलिया । करिब २५ वर्ष देखि अष्ट्रेलियालाई कर्मथलो बनाएर बस्नुभएका ऋषि कँडेल अस्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जगेर्नामा लागिरहनुभएको छ। नेपाल फेस्टिभलको सुरुवाती दिनदेखि आजसम्म सक्रिय रूपमा रहनुभएका कँडेल १० वर्षदेखि आफ्नै व्यवसाय गर्दै आइरहनुभएको छ। सन् २०१३ र २०१५ मा २ वटा नेपाल फेस्टिभल आफैँले संयोजन गर्नुभएको कँडेलसँग यस वर्षको नेपाल फेस्टिभल मेलबर्न २०२२ को बारेमा कुराकानी गरेका छौँ । 

नेपाल फेस्टिभलको सुरुवाती समयबाट नै तपाई एनआरएनका तर्फबाट सक्रिय रूपमा हुनुहुन्थ्यो, दुई वटा महोत्सवले आफैँले संयोजन पनि गर्नुभएको छ, त्यति बेला र अहिलेमा के भिन्नता छ ?

नेपाल फेस्टिभलको सुरुवात गर्दा निकै चुनौती थियो । आर्थिक रूपमा पनि गाह्रो थियो किनभने नेपाली समुदाय स्थायित्वको चरणमा नै थियो । तर अहिले धेरै परिवर्तन भइरहेको छ । नेपाली समुदाय पनि परिपक्व हुदैंछ । व्यवसायमा पनि नेपालीहरूको बाहुल्यता बढ्दै गइरहेको छ । स्पोनसर पनि राम्रो छ, जसले गर्दा आर्थिक रूपमा कार्यक्रमलाई व्यवस्थापनलाई सहज हुन्छ । 

नेपालको संस्कृति र मौलिकता विदेशमा पनि जगेर्ना गर्नको लागी नेपाल फेस्टिभलको भूमिका कस्तो रहेको छ? 

नेपाल फेस्टिभल त ब्रान्ड नेपाल जस्तो भइसक्यो। अस्ट्रेलिया एनआरएनबाट सुरु भएको नेपाल फेस्टिभल अहिले एनआरएन भएका सबै देशमा आयोजना गरिन्छ। एक दिनको अवधिमा समग्र नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो, जसमा हामीले नेपालको परिचयअरू समुदायलाई चिनाउन पाउन्छौं। 

नेपाल फेस्टिभलमा सुरुवाती समयदेखि नै दोस्रो पुस्ताका नेपालीहरूको सहभागिता कस्तो थियो र दोस्रो पुस्तालाई नेपालको संस्कृति हस्तान्तरण गर्न नेपाल फेस्टिभलले कस्तो भूमिका निर्वाह गर्दछ ?

दोस्रो पुस्ताको सहभागिता पनि उत्साहजनक नै हुने गर्दछ । नेपाली गीत, संगीता, भेसभुसा, खाना, संस्कृतिमा उनीहरूको रुचि छ। नृत्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी पनि भएका छन्। तर व्यवस्थापकीय वा भनौँ संस्थागत हिसाबमा चाहिँ दोस्रो पुस्ताको सहभागिता कम रहेको छ। त्यसैले दोस्रो पुस्तालाई संरक्षक बनाएर लैजाने गरी अघि बढ्न सकियो भने अझै राम्रो हुन्छ। 

नेपाल फेस्टिभलले जे गर्दै आइरहेको छ, त्यो त निश्चित रूपमा सह्रायिन नै छ तर यसलाई अझै राम्रो बनाउन के गर्नुपर्ला ? 

हरेक वर्ष नयाँ कमिटी बनाएर अघि बढ्नु भन्दा पनि एउटा स्थायी कमिटी बनाएर एनआरएनका केही सदस्य मात्र थप गरेर नेपाल फेस्टिभल व्यवस्थापकीय कमिटी बनायो भने राम्रो हुन्छ जस्तो लाग्छ। त्यसो गर्न सकियो भने अघिल्लो वर्ष भएका काम र यस वर्ष थप गर्नुपर्ने कामहरू पहिल्याउन पनि सहज हुन्छ। अनि कार्यक्रमको गुणस्तरलाई विशेष ध्यान दिन सकियो भने राम्रो हुन्छ जस्तो लाग्छ। 

अन्त्यमा तपाईकोे आफ्नो भनाई केही छ ?

अष्ट्रेलियामा नेपाली समुदाय पनि बढ्दै गइरहेको छ। त्यसैले आर्थिक रूपमा यदि सकिन्छ भने नेपाल फेस्टिभललाई एक दिन बाट ३ दिनसम्म गर्न सक्दा यसको प्रभाव बढी हुन्छ। समयसीमा बढाउन सकियो भने नेपाली समुदाय बाहिर सम्म यसको प्रभावकारिता हुन्छ भन्ने हो। अन्त्यमा सधैँको वर्ष झैँ यस वर्ष पनि सबै जना सहभागी भएर नेपाल फेस्टिभल भव्य रूपमा सफल पारौँ भन्न चाहन्छु।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]